काठमाडौं।नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी कुष्माण्डा भगवतीको पूजाआरधना गरी मनाइँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
संस्कृतिविद् प्राडा शशी थापा पण्डितका अनुसार कुष्माण्डाको पेटमा ताप रहेकोले उनलाई संसार बचाउने र ध्वस्त पार्नसक्ने शक्ति भएकी देवीका रुपमा आरधना गरिन्छ।
आषाढ शुक्ल, आश्विन शुक्ल, माघ शुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछ। यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्ल पक्षका तिथिहरुलाई गुप्त नवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् ।
चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन्। विशेष गरी आश्विन शुक्ल पक्षमा पर्ने शारदीय नवरात्रको शास्त्रमा अधिक महत्व बताईएको छ। संस्कृतिविद् श्यामसुन्दर राजवंशीका अनुसार महिसासुर राक्षसले मानिसहरुलाई धेरै दुःख दिने गरेकोले उनीहरुलाई परास्त महिला शक्तिलाई प्रयोग गरेको पाइन्छ ।
मार्कण्डेय पुराणमा सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ, ती सबै कामना सिद्ध हुने कुरा दुर्गा सप्तशतीको देव्या कवचमा बताइएको छ ।
९ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ। विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ। संस्कृतिविद् डा. बासु काफ्लेका अनुसार कुष्माण्डाको लागि मधुपत्रलाई काँसको थालीमा राखेर अर्पण गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
दशैँको चौथो दिन आज माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।
००००