काठमाडौं । नेपालीहरुको मूल पर्व बडादशैँ आजबाट विधिवत रुपमा शुरु भएको छ । बिहानै घरघरमा जमरा राखी घटको स्थापना गरेर दशैँको सुरुवात गरिएको हो । सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो । घटलाई सुख–समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ । यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र एवं महादेव, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ ।
नवरात्रिको समयमा ब्रह्माण्डमा उपस्थित शक्तिहरुको घटमा आह्वान गरेर उनीहरुलाई कार्यरत गर्ने गरिएको छ । यो घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जमरा राखेर घट स्थापना गरी दशैँको सुरुवात भएको बताउनुभयो ।
घटस्थापना गरिसकेपछि कलशको मध्यमा स्थापित नवदूर्गामध्येकी पहिली देवी शैलपुत्रीको पूजा गर्ने गरिन्छ । शैलपुत्री हिमालयकी पुत्री पार्वतीको अर्को नाम हो । वृषभ वाहन भएको कारणले नै यी देवीलाई वृषरुढा नामले समेत चिन्ने गरिएको छ । शैलपुत्री दूर्गाको पहिलो रुप भएकोले पनि नवरात्रमा उनको पहिलो दिन घटस्थापनलगत्तै पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा माटो ल्याई पूजाकोठामा विधिपूर्वक जमरा राख्ने गरिन्छ । वैदिक विधिद्वारा हुने पूजामा जौलाई अनिवार्य अन्नको रुपमा मान्ने गरिएको छ । प्राडा गौतमका अनुसार जमरा भनेको जौ को अंकुर हो, जौँको टुसा देवीको सर्वश्रेष्ठ पुष्प हो ।
यसरी जमरा राखिएको स्थान नजिकै पूर्णजल युक्त घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति स्थापना गर्ने गरिन्छ । जसमा नवरात्र भरी नै पूजाआजा गर्ने गरिन्छ । संस्कृतिविद् प्राडा विणा पौडेलले दशैँमा शक्ति स्वरुपाको पूजा गर्ने प्रचलन रहेको बताउनुभयो ।
दशैँलाई आफ्नो गक्ष अनुसार मनाउनु पर्दछ । पछिल्लो समय देखिएको देखासिकीलाई विस्थापित गर्दै सबैको साझा मान्यताको चाड बनाउनुपर्दछ । यतिबेला मान्यजनबाट टीका थापेर, आपसमा रमाइलो गर्दै सबैको दशैँ सुखद रहोस् हार्दिक शुभकामना ।