काठमाडौं । स्थायी घर अछाम भई हाल अष्ट्रेलियामा अध्ययनको सिलसिलामा बस्दै आएका युवा समाजसेवी छत्र बहादुर धामीले इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका गणेश नेपाली र आशिष चौधरीका परिवारलाई २०/२० हजार सहयोग गर्नुभएको छ ।
समाजसेवी धामीले सहयोगको लागि पठाएको ४० हजार रुपैयाँ कैलालीका पत्रकार रमित पाण्डेमार्फत कैलालीको जोशीपुर गाउँपालिका ५ का आशिष चौधरीका परिवारलाई र बझाङको जयपृथ्वी नगरपालिका ६ का गणेश नेपालीका परिवारलाई मनीषा चन्द ठकुरीमार्फत २०/२० हजार हस्तान्तरण गरिएको हो ।
यसअघि सामाजिक सञ्जालमार्फत धामीले इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका ६ का गणेश नेपाली र कैलालीको जोशीपुर गाउँपालिका ५ का आशिष चौधरीका परिवारलाई २०/२० हजार सहयोग गर्ने बताउनुभएको थियो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आफू अष्ट्रेलिया छु तर मन भने इजरायल तिरै छ तीनै नेपाली सन्तानहरूको जीवनको प्रार्थना मै,उद्धारको अनुरोधमै मैँले तीन रात छट्पटिमै बिताएँ तर पनि मेरो केही लागेन, केही गर्न सकिनँ यो गुनासो त छँदैछ । तर यो दुःखद घडीमा म आँसु बन्न चाहन्न, ती आमाबुबा रोएको भिडियो शेयर गरेर अरूलाई रुवाउन चाहन्न अब यत्ति चाहन्छु तीनै आमा बुबा जसले देशको असल कृषि विज्ञ गुमाउनु भयो उहाँहरूको निम्ति थोरै भएपनि सान्त्वना बन्न पाइयोस् हौसला दिन सकूँ।यसरी बिरानो मुलुकहरूको युद्धमा आफ्ना निर्दोष सन्तानहरू गुमाउनुको पिडा कति छ त्यसको कल्पना म गर्न सक्दिनँ’ ।
धामीले केही गर्छु भनेर जवान छोरा प्रदेश गएको तर इजरायलमा चलेको युद्धमा सबै सपना मेटिएको बताउँदै सक्ने जतिले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
विगत एक वर्षदेखि अध्ययनको सिलसिलामा अष्ट्रेलियाको सिड्नीमा रहेका धामी यसअघि नेपाल रहँदा पनि समाजसेवाका कार्यमा अग्रसर हुनुहुन्थ्यो ।
गत आइतबार इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।