Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसीसी यू–१९ क्रिकेट : देवको शतकमा इरानमाथि नेपालको शानदार जित

एसीसी यू–१९ क्रिकेट : देवको शतकमा इरानमाथि नेपालको शानदार जित

  • बिहिवार, आश्विन २५ २०८०

  • 947
    SHARES

  • एसीसी यू–१९ क्रिकेट : देवको शतकमा इरानमाथि नेपालको शानदार जित
    काठमाडौं । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो । 
     
    विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रन मात्र बनाउन सक्यो । ठुलो लक्ष्य पछ्याएको इरानका ब्याट्सम्यानलाई प्रारम्भदेखि नै नेपाली बलरहरूले दबाबमा राखेका थिए । 
     
    इरानका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान अमेर खोरसान्दले इरानका लागि ३७ रन बनाएका थिए । उनले २२ बलमा पाँच छक्का र एक चौका हिर्काएका थिए । 
     
    तल्लो क्रमका ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे । इरानका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर दीपेश कँडेलले तीन विकेट लिए । सुवास भण्डारीले पनि तीन विकेट लिए । आकाश चन्द र हेमन्त धामीले दुई—दुई विकेट हात पारे । 
     
    त्यसअघि नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेलेका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । 
     
    विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्रेले पनि अर्धशतकीय पाली खेलेका थिए । दीपकले केवल ४४ बलमा दुई छक्का र आठ चौकाको मद्दतले ६९ रनको योगदान गरे । त्यसअघि ओपनर ब्याट्सम्यान दीपक बोहराले पनि टोलीका लागि अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ बलमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । 
     
    दीपक बोहरा र देव खनालले ९८ बलमा एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९ रन बनाए भने सुवास भण्डारीले अविजित १८ र हेमन्त धामीले २३ रनको योगदान गरेका थिए । आकाश चन्दले पनि १९ रन बटुलेका थिए । 
     
    नेपालले अतिरिक्त रूपमा पनि २६ रन पाएको थियो । इरानका बलर दादरहमान रइसी र सलमान नियाजमन्दले तीन—तीन विकेट लिए । नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्नेछ । त्यसपछि नेपालले अक्टोबर १९ मा साउदी अरेबियाको सामना गर्नेछ । 


    बिहिवार, आश्विन २५ २०८००१:४२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij