Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जागेश्वर गौतमको ‘बेहोस’ अभिव्यक्तिको चर्काे आलोचना, चिकित्सकले नै गरे विरोध

जागेश्वर गौतमको ‘बेहोस’ अभिव्यक्तिको चर्काे आलोचना, चिकित्सकले नै गरे विरोध

  • शुक्रवार, आश्विन २३ २०७७

  • 2.0K
    SHARES

  • जागेश्वर गौतमको ‘बेहोस’ अभिव्यक्तिको चर्काे आलोचना, चिकित्सकले नै गरे विरोध


    काठमाडौँ – कोरोना संक्रमितहरुलाई बेहोस भएपछि अथवा हुन लागेपछि मात्रै अस्पताल आउन स्वास्थ्य मन्त्रालयले गरेको आग्रहको नागरिकस्तरबाट चर्काे आलोचना भएको छ।

    कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुले पनि बेहोस भएपछि अथवा हुन थालेपछि मात्रै अस्पताल आउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गरेको आग्रह अनुचित भएको टिप्पणी गरेका छन् ।

    जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले प्रवक्ता गौतमको भनाइको आशय ठिक भए पनि बोल्ने तरिका बिल्कुलै उचित नभएको बताउनुभयो । उहाँले बेहोस हुन थालेपछि मात्रै अस्पताल आउनु भनेर विश्वका कुनै पनि मुलुकले आफ्ना नागरिकलाई भन्न नसक्ने बताउनुभयो ।

    प्रवक्ता गौतमले भन्न खोजेको कुरा ठिक भए पनि प्रवक्ताले कसरी बोल्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

    गएको बुधबार स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले अहिले ज्वरो आए पनि अस्पताल दौडिहाल्ने क्रम बढेकोले बेहोस भएमा वा होला होला जस्तो भएमा मात्रै अस्पताल आउन आग्रह गर्नुभएको थियो ।

    कोरोना संक्रमित बिरामीहरुले अस्पतालहरु भरिभराउ भएकाले संक्रमण बढ्दै गए गम्भीर बिरामीले बेड नपाउने समस्या उत्पन्न हुन सक्ने सन्दर्भमा सामान्य ज्वरो आउँदैमा कोरोना नै भैहाल्यो कि भनेर अस्पताल नआउन मन्त्रालयले प्रवक्तामार्फत आग्रह गरेको हो ।

    तर प्रवक्ता गौतमले उक्त कुरालाई सही ढंगले प्रस्तुत गर्न नसकेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । उहाँले बेहोस भएपछि मात्रै अथवा बेहोस होला होला जस्स्तो भएपछि मात्रै अस्पताल आउन मन्त्रालयले आग्रह गर्नु भने उचित नरहेको बताउनुभयो ।

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि बेहोस भएपछि मात्रै असपताल आउन सरकारले गरेको आग्रह गम्भीर आपत्तिको विषय रहेको बताउनुभयो ।

    उहाँले मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिले सरकार कोरोना महामारी नियन्त्रणमा निरिह सावित गरेको विषय प्रमाणित हुने बताउनुभयो । सरकारको गैरजिम्मेबार व्यवहारले कोरोना संक्रमण भयावह बन्न थालेको उहाँको आरोप छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रवक्ताका रुपमा दिएको अभिव्यक्ति विवादमा आएको यो पहिलो पटक होइन । यसअघि पनि थुप्रै पटक उहाँले व्यक्तिगत चेनावनी दिएको जस्तो गरी अभिव्यक्ति दिएपछि विभिन्न संघ संस्थाले सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेका थिए ।

    सार्वजनिक पदमा बसिसकेका व्यक्तिले आम विषयमा जथाभावी बोल्दा मन्त्रीहरुकै जागिर चैट भएका उदाहरण नेपालमा ताजै छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पनि आफ्नो बोलीमा लगाम लगाउन आवश्यक छ ।


    शुक्रवार, आश्विन २३ २०७७०७:५१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij