काठमाडौं । कडा परीक्षाको व्यवस्था सामान्य तालिम लिएर पाइने गरेको बीमा अभिकर्ताको लाइसेन्स बनाउन अव गाह्रो हुने भएको छ । नेपाल बीमा प्राधिकरणले परीक्षा लिएर कम्तीमा ५० प्रतिशत अंक ल्याउनेलाई मात्रै लाईसेन्स दिने व्यवस्था गर्न लागेको हो ।
पुरानो प्रणाली यही असोज २५ गतेपछि बन्द हुने र नयाँ परीक्षा प्रणाली मार्फत लाईसेन्स दिने व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ । अभिकर्ताहरूको परीक्षा सञ्चालनका लागि प्राधिकरणले असोज २५ गतेदेखि आइएरएमएस सिस्टममा अभिकर्ता दर्ता प्रक्रिया बन्द गर्ने भएको छ ।
बीमा ऐनमा पनि बीमा मध्यस्थकर्तालाई इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा पास गर्नुपर्ने व्यवस्था रहेको छ । सोही ऐनमा टेकेर प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको हो ।
योसँगै अब प्राधिकरणले लिने परीक्षामा उत्तीर्ण भएपछि मात्रै कुनै पनि बीमा कम्पनीको बीमा अभिकर्ता बन्न पाइनेछ । २५ गतेपछि लाईसेन्स पाउन कठिन हुनेभएकाले अहिले लाईसेन्स बनाउनेहरूको भिड बढेको रिलायबल लाईफ इन्स्योरेन्सका शाखा प्रमुख सुवास गैह्रेले जानकारी दिनुभयो ।