काठमाडौं। नेपाल भूकम्पको जोखिममा रहेको मुलुक हो । यहाँ विभिन्न समयमा भूकम्प भइरहेको हुन्छ । सामान्य अर्थमा भूकम्प भनेको पृथ्वीको कम्पन हो । ठूला भूकम्प जाने धेरै कारणहरु हुन्छन् ।
नेपाल र हिमालय क्षेत्रमा जाने भूकम्पहरु टेक्टोनिक प्लेटहरुको बीचमा हुने अन्तरक्रिया जसमा दक्षिण दिशाबाट निरन्तररुपमा क्रमश उत्तरतर्फ आइरहेको भारतीय प्लेट र उत्तरतर्फ रहेको तिब्बती प्लेटसँग एक आपसमा ठोक्किने क्रममा पृथ्वीको माथिल्लो तहमा रहेको कमजोर भौगर्भिक दरारमा अकस्मात विस्थापन हुँदा त्यहाँ धेरै समयदेखि जम्मा भएर रहेको शक्ति निस्कँदा उत्पन्न हुने गर्दछ ।
विपद्विज्ञ सुवोध ढकालका अनुसार नेपाल भूकम्पका दृष्टिकोणले जोखिम भएको स्थान हो। दुई प्लेटबीचको टकरावले यहाँको भूमि हल्लिने गरेको छ।
भूकम्पको असर सबै ठाउँमा एकैनासको हुँदैन। भूकम्प कति शक्तिशाली छ भन्ने कुराको मापन म्यग्नेच्युटमा गरिन्छ। तर, कुनै पनि स्थानमा सो भूकम्पले पुर्याउने असर सो ठाउँमा भूकम्पको शक्ति कति पुग्यो भन्ने कुराले निर्भर गर्छ।जसलाई इन्टेन्सिटी भन्ने गरिन्छ।बझाङमा भएको भूकम्पले पु¥याएको क्षति त्यसको कम्पन भन्दा कम हो। ६.३ म्याग्निच्युटको भूकम्प शक्तिशाली मानिन्छ।
गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काका अनुसार भूकम्पको दृष्टिले नेपाल जोखिममा भएकोले राज्यले तोकेका मापदण्ड अपनाउन जरुरी छ ।
बझाङमा भएको भूकम्पले त्यहाँका जनता त्राहीमाममा बस्न बाध्य रहेका छन् । करिब १ सय ३५ भौतिक संरचनामा क्षति भएको छ भने एकजनाको मृत्यु र १८ जना घाइते भएका छन् । स्थानीय भूमिराज पिठातोलीका अहिले पनि पराकम्पन भइरहेका छन् । स्थानीयमा त्रास कायम छ ।
नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपानेका अनुसार रेडक्रस बझाङमा भएको भूकम्पको जोखिम, उद्दार र राहतका लागि जुटिसकेको छ ।
नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो । नेपाल विश्वका अन्य देशहरुको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औं रहेको विभिन्न अध्ययनहरुले जनाएका छन् । ०७२ वैशाख १२ गते गएको महा–भूकम्पमा मृत्यु हुनेको संख्या आठ हजार र घाइते हुनेको संख्या सत्र हजार भन्दा माथि पुगेको थियो ।
सरकारले वर्षेनी आउने विपद्का घटनाहरुबाट जनतालाई सुरक्षित तुल्याउन अग्रसर हुनुपर्दछ । जब पर्यो राती तब बुढी ताती भन्ने उखानलाई अब परिवर्तन गर्न जरुरी छ ।