काठमाडौं। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताउनु भएको छ।
शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारले पर्याप्त गृहकार्य नगरी विधेयक ल्याएका कारण सडकमा आन्दोलन हुन पुगेको र पछि सरकारसँग सहमति भएको स्थितिमा उठेका विषय र सहमतिका बुँदाहरू विधेयकमा समाविष्ट गराउने प्रक्रियामा लाग्न आग्रह गर्नुभयो ।
उहाँँले सरोकारवालाबाट सुझाव लिई सांसदहरुले प्रक्रियाबमोजिम संशोधन नहालेमा समितिले मात्रै परिमार्जन गर्न नसक्ने स्पष्ट गर्नुभयो ।
उहाँका अनुसार उक्त विधेयक सैद्धान्तिक छलफलपछि अब बस्ने प्रतिनिधिसभाको बैठकबाट दफावार छलफलका लागि समितिमा पठाइनेछ ।
शिक्षाको गुणस्तर र सार्वजनिक शिक्षाको श्रीवृद्धि कसरी हुन्छ भन्ने सोच विधेयकमा ल्याउन आवश्यक रहेकामा जोड दिँदै उहाँले कानुन र नीति तर्जुमाका सवालमा विज्ञ र सरोकारवालालाई बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।