काठमाडौं। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त स्टक ब्रोकर कलश स्टक मार्केट (ब्रोकर नम्बर ७४)ले प्रथम वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न गरेको छ। बोर्डबाट सीमित कार्य गर्न अनुमति प्राप्त गरेको कम्पनीले पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको हो। साथै साधारण सभामार्फत नयाँ नेतृत्व पनि चयन गरिएको छ।
साधारण सभाले शेयरधनी प्रदीप केसीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको हो। जसको पदाधिकारीहरूमा उद्धवराज पौड्याल, डिल्लीराम बास्तोला, छविलाल अधिकारी सञ्चालक सदस्यका रुपमा चयन भएका छन् भने सालिकराम अधिकारीलाई प्रबन्ध सञ्चालकको जिम्मेवारी तोकिएको छ।
गत २०८० भदौ १० गते काठमाडौँ महानगरपालिका वडा नं १० बुद्धनगर स्थित कम्पनीको कार्यालयमार्फत विधिपूर्वक सेवाको शुभारम्भ गरेको कलश स्टक मार्केट प्रा.ली.ले कार्य सञ्चालनको पहिलो महिनामा नै उल्लेख्य सङ्ख्यामा ब्रोकर खाता, डिम्याट खाता र मेरो शेयर सुविधा प्रदान गरेको छ।
भविष्यमा आवश्यक प्रक्रिया पुरा गरी पोखरा, बुटवल, नेपालगन्ज, विराटनगर लगायत प्रमुख सहरहरूमा शाखा विस्तार गर्ने र शेयर सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।
सबैलाई पायक पर्ने स्थानमा कम्पनी कार्यालय रहेको, धितोपत्र बजार बैंक,वित्तीय क्षेत्र लगायत विविध क्षेत्रका अनुभवी व्यक्तिहरूको व्यवस्थापनमा संलग्नता, सामूहिक निर्णय प्रक्रिया, प्रविधिमैत्री सेवा तथा ग्राहक सेवामा प्रतिबद्ध कर्मचारी नै कम्पनीको सफलताको प्रमुख आधार रहेको अध्यक्ष प्रदीप केसीले जानकरी दिनुभयो।
कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष सालिकराम अधिकारीको अध्यक्षता तथा काठमाडौँ महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामकुमार केसीको प्रमुख आतित्थ्यतामा साधारण सभा सम्पन्न गरिएको हो ।