Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रोल्पाको पहिलो अर्थशास्त्री सुदनबाट सिकौँ ‘पैसा बिनाको सफलता’

रोल्पाको पहिलो अर्थशास्त्री सुदनबाट सिकौँ ‘पैसा बिनाको सफलता’

  • शनिवार, आश्विन १३ २०८०

  • 5.2K
    SHARES

  • रोल्पाको पहिलो अर्थशास्त्री सुदनबाट सिकौँ ‘पैसा बिनाको सफलता’

    सुर्यप्रकाश बुढा मगर, रोल्पा । रोल्पाको पहिलो अर्थशास्त्री डा सुदन ओलीले लुम्बिनी प्रदेशको योजना बनाउने जिम्मेवारी पाउनु भएको छ । उहाँलाई लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा भदौ १८ गतेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार नियुक्ति गरेकोे हो । उहाँले गत असोज ५ गते शुक्रबार सपथ ग्रहण गर्नु भएको छ ।

    ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा लुम्बिनी प्रदेश सरकार, प्रदेश योजना आयोगका अध्यक्ष डिल्ली बहादुर चौधरी र लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल के.सी.को रोहवरमा सपथ ग्रहण गर्नु भएको हो।

    रोल्पाको हालको परिवर्तन गाउँपालिका ६ तथा साविकको इरिबाङ गाविस वडा नम्बर ४ सेलाजुका सुदन कुमार ओली पिता दलबहादुर ओली र माता खिर्मी ओलीको सुपुत्रका रुपमा जम्मिनु भएको हो । वि.सं. २०४८ साल माघ ५ गते जन्मनु भएका ओलीले कक्षा १ देखि ५सम्मको अध्ययन चाबाङको विद्यालयमा गर्नुभयो ।

    त्यस्तै ६ कक्षा देखि ८ सम्मको अध्ययन जीवन ज्योति मावि देवल टाँकुरा राँक ताप्लामा गर्नुभयो भने ९ र १० कक्षाको अध्ययन बालकल्याण नमूना मा वि लिबाङमा गर्नुभयो । लिबाङ आएपछि विभिन्न संघ संस्थाहरुमा काम गर्ने अवसर पनि पाउनुभयो ।

    आफ्नो उच्च शिक्षा यात्राका बारेमा उहाँले भन्नुभयो, “एसएलसी पछी म प्लस टु अध्ययनका लागि काठमाडौ गएँ, मेरो ब्याचर्लर र मास्टर्स लेभल काठमाडौबाटै गरेँ । त्यस्तै मास्टर्स पोखरा युनिभर्सिटीबाट पूर्ण छात्रवृतीमा र ब्याचर्लर त्रिभुवन युनिभर्सिटी अन्तर्गतको एसियन कलेज अफ हायर स्टडिजमा हो ।”

    उहाँले एनइए इन्जिनियरिङ कम्पनीमा आयोजनाको वित्तीय विश्लेषक र अर्थशास्त्रीको रुपमा काम गर्नुभयो । झन्डै ४ हजार ५ सय मेगावाट भन्दा बढी हाइड्रोपावर प्रोजेक्टहरु विभिन्न स्टेजको वित्तीय विश्लेषण उहाँले गर्नु भएको छ ।

    उहाँले २०१७ अगस्टमा मास्टर्स सकिएको दुई बर्ष पछी २०१९ को अगस्टमा पिएचडीका लागि चीन सरकारको पूर्ण छात्रबृत्तिमा वेइजिङ गएर भर्खरै अर्थशास्त्रमा विद्यावारिधि पुरा गर्नु भएको हो । चीनको वेइजिङ स्थित युनिभर्सिटी अफ इन्टरनेशनल विजनेस एण्ड इकोनोमिक्समा विद्यावारिधी गरेको उहाँले बताउनु भयो ।

    रोल्पाको दुर्गम तथा विकट पहाडी गाउँबाट दुख संघर्ष गर्दै रोल्पा जिल्लाकै अर्थशास्त्रमा विद्यावारिधी गर्नेमा उहाँ पहिलो हुन सफल हुनुभयो । आफ्नो संघर्षका बारेमा उहाँले भन्नुभयो, “समय सधैं अगाडि बढ्छ, मलाई के लाग्छ भन्दा सकारात्मक कुरालाई सम्झदैं जाने हो र त्यसबाट नयाँ शिक्षा लिउदै जाने हो भने नकारात्मक कुरालाई बिर्सदै जाने र त्यसलाई छोड्दै जाने हो ।”

    जीवन संघर्षलाई बुझ्ने उहाँको आफ्नै तरिका छ । जीवनलाई कसरी लिने भन्ने बारेमा उहाँले भन्नुभयो, “मान्छेहरुले भन्छ नी नकारात्मक र सकारात्मक दुबै सम्झनु पर्छ भनेर, तर मेरो सोचाइमा जुन जुन कुराले जीवनमा आशा जगाउँछ नी त्यो कुराबाट शिक्षा लिएर अगाडि बढ्नुस र जुन जुन कुराले नकारात्मक म्यासेज दिन्छ नि ती कुराहरू छोड्दै जानुस, तपाईंको जीवनलाई सहज बनाउँछ ।”

    “वनमा नाङ्गै खुट्टा जादा काँढाँ बिझे होलान,, हिजोका ती दिनमा नाङ्गै खुट्टा स्कुल गयौं होला ? हिउँ पर्दा नाङ्गै खुट्टा हिडियो होला, दाइ र म एक दिन दाइ रोकिएर बाख्रा ग्वाला जाने र एक दिन म बाख्रा ग्वाला जान घरमा रोकिएर पढेका हौँ, आइतबार दाइ स्कुल जानूभयो भने सोमबार दाइ रोकिने र सोमबार म स्कुल गए भने मंगलबार म रोकिने गरेर गाउँमा बढेका हौं,” उहाँले बाल्यकालको स्मरण गर्नुभयो ।

    उहाँको जन्मस्थानमा अहिलेसम्म पनि सडक पुगेको छैन । आफुँ अर्थशास्त्री भइसक्दा पनि आफ्नो गाउँ पछाडी परिरहँदा उहाँलाई नमिठो लागेको छ । उहाँ भन्नुहुन्छ, “मेरो गाउँमा अहिलेसम्म सडक गएको छैन, मेरो घरनै रिसोर्ट जस्तो छ, किनकि मेरो घरको चारैतिर जंगल छ र बीचमा मेरो घर छ, त्यहाँबाट आउन मलाई सहज त थिएन ।

    जीवनमा यस्ता घटनाहरु घट्छन जसले जीवनको बाटोलाई नै परिवर्तन गरिदिन्छ । मेरो पनि तिता मिठा घटनाहरु छन जुन मेरा लागि ती घटनाहरु विगत भइसके र जुन जीवनमा सकारात्मक कुराहरु हुन्छन्, त्यसले मलाई सधैं उत्प्रेरणा दिइरहन्छ ।”

    उहाँको थप संघर्षका कथा व्याथा उहाँकै शब्दमा
    हामी अगाडि बढ्नुपर्छ किनभने जीवनमा दुईवटा कुरा चाहिँ ख्याल गर्नुपर्छ भन्छ, एउटा कुरा जुन तपाईंले गर्दै हुनुहुन्छ नि त्यो भित्री मनदेखी गरौँ भित्री मनदेखी गरेको रिजल्ट पनि मनदेखी आउँछ र मन पनि सन्तुष्टि हुन्छ । अर्को कुरा जीवनमा नकारात्मक पक्षहरु पनि धेरै हुन्छ, जुन त्यसले तपाईंलाई नकारात्मक बाटो तिर नै डोर्याउछन ।

    यो पक्षलाई छोड्दै जानुपर्छ किनभने एउटा उद्देश्य जीवनको एउटा उद्देश्य बोकेर हिडियौं भने अवश्य गन्तव्यमा पुग्न सक्छौं । इच्छाशक्ति भयो भने असम्भव भन्ने केही छैन भन्ने लाग्छ । मेरो आमा बुबा अहिले पनि त्यतै गाउँमै हुनुहुन्छ । मसँग कहिले पनि फि तिर्ने पैसा हुँदैन्थ्यो र यदि मैले पैसा तिरेरै पढ्नु परेको भए मैले एमविए पनि गर्ने थिएन होला । पिएचडीको त कुरै छोडिनु ।

    मलाई के पनि याद छ भने म इन्जिनियर नै पढ्छु भनेर काठमाडौ आएको थिएँ । तर मसँग पैसा थिएन र पैसा नभएपछि कसरी पढ्न सकिन्छ र भनेर म म्यानेजमेन्टमा सिफ्ट भएँ । त्यसपछि एमविए सकेर र विस्तारै पिएचडी तिर लागेको हुँ ।

    वि.स. २०६२ सालको बैशाखमा म दाङ पढ्न जान्छु भनेर ५ सय रुपियाँ लिएर घरबाट निस्केको मान्छे, तर म दाङ नगएर आफ्नै सदरमुकाम लिबाङ आएर पढेको हुँ । मलाई के लाग्छ भन्दा पैसा एउटा माध्यम हो र महत्वपूर्ण पनि हो, तर पैसा नै सबै कुरा चाहिं होईन । तपाईंले पैसा नभएर ठ्याक्कै त्यो काम पुरा गर्न सक्नु भएको छैन होला तर त्यो भन्दा राम्रो गर्न सक्नु हुन्छ । सबै कुरा पैसा पनि होइन तर पैसाले रोक्छ पनि मैले त इन्जिनियर पढ्न पाइन नि, यदि इन्जिनियर पढेको भए म इकोनोमिक्समा अगाडि बढ्न सक्ने थिएन ।

    उहाँले आफ्नो प्रेरणाको स्रोत विभिन्न घटनाहरु भएको बताउनु भयो । उहाँको बुझाईमा हरेक घटनाले नयाँ शिक्षा दिन्छ । “व्यक्ति नै यहीँ हो भन्दा पनि कुन कुन घटनाले कतिखेर कहाँ निर महत्वपूर्ण भूमिका खेल्यो भन्ने कुरा महत्वपूर्ण हो,” उहाँको भनाई छ ।

    “व्यक्तिलाई नै भन्नु पर्दा आफ्नो हजुरवुवा आफ्नो प्रेरणाको मुख्य श्रोत भएको उहाँले स्मरण गर्नुभयो । “मेरो हजुरबुबा गाउँको भलार्मी नै हुनुहुन्थ्यो, सबैले मान्ने व्यक्ति, आमाबुबासँग त्यति धेरै बसिन र हजुरबुबासँगै बसेको हुँ । जुन हजुरबुबाले देखाएको बाटो थियो, सधैं सत्यतथ्यमा हिंड्नुपर्छ, गलत गर्नु हुँदैन र समाजमा राम्रो गर्नुपर्छ भन्ने चाहिँ मेरो हजुरबुबाको मार्गदर्शन हो,” उहाँले भन्नुभयो ।

    रोल्पाको पहिलो अर्थशास्त्री

    “सम्भवतः रोल्पा जिल्लामै पिएसडी गर्ने म नै पहिलो व्यक्ति हुँ त म भन्दिन, तर यति चाहिँ भन्न सक्छु की अर्थशास्त्रमा विद्यावारिधी गर्ने चाहिं रोल्पाको पहिलो व्यक्ति भने पक्कै हुँ । मलाई गर्व पनि लाग्छ र मेरो यो उमेरमै पिएचडी गर्ने कमै हुनुहुन्छ,” ओलीले भने । उहाँले परिवर्तन गाउँपालिकाको पिएचडी गर्ने आफु नै पहिलो भएको दावी पनि गर्नुभयो ।

    जहाँ इच्छाशक्ति त्यहाँ उपाय भनेझैं ओली समाजको एक उदाहरणीय व्यक्ति बन्नु भएको छ । उहाँले कडा मेहनत, कडा संघर्ष र आफ्नो इच्छाशक्तिले जुनसुकै काम गर्ने हो भने असम्भव भन्ने केही नभएको सन्देश प्रवाह गर्ने पात्रको रुपमा हेर्न थालिएको छ ।


    शनिवार, आश्विन १३ २०८०१०:२०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij