काठमाडौं । सागर डिस्ट्रिलरीको रोयल ब्लूले एसियन गेम्सको क्रिकेटमा विश्व कीर्तिमान बनाउने दुई खेलाडीलाई जनही २ लाख सहित सम्मान गर्ने घोषणा गरेको छ ।
सागर डिस्ट्रिलरीले बिहीबार विज्ञप्ति जारी गर्दै टी ट्वान्टी क्रिकेटमा विश्व कीर्तिमान बनाउने कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई जनही २ लाख रुपैयाँ सहित सम्मान गर्ने बताएको छ ।
कुशल र दीपेन्द्रको कीर्तिमानी प्रदर्शनमा नेपालले एसियन गेम्स क्रिकेटमा भियतनामविरुद्ध ऐतिहासिक जित दर्ता गरेको थियो ।
दीपेन्द्रले ९ बलमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान कायम गरेका थिए भने कुशलले सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए ।
रोयल ब्लूका ब्राण्ड हेड ऋतिक शाहीले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘कुशल र दीपेन्द्रले क्रिकेट मैदानमा गरेको असाधारण उपलब्धिहरूका लागि हामी अत्यन्तै गर्व गर्छौ । उनीहरूको उल्लेखनीय प्रदर्शनले नेपाललाई महिमा मात्र ल्याएको छैन तर क्रिकेट उत्साहीहरूको एक पुस्तालाई पनि प्रेरित गरेको छ । पूर्णता र उत्कृष्टतामा समर्पित ब्रान्डको रुपमा रोयल ब्लू उनीहरूको उत्कृष्ट रेकर्डलाई सम्मान गर्न पाउँदा खुसी छ ।’