कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल २०२३–०२५ का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर.के) शर्माले कर्मभूमि कतारबाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारासहित शर्माले आफ्नो २४ महिने कार्यकालमा २४ काम गर्ने बाचा गर्नु भएको छ ।
उहाँले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको जानकारी दिनुभयो ।
आफ्ना योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उहाँले दाबी गर्नुभयो ।
बाचापत्र सार्वजनिक गर्दै शर्माले भन्नुभयो, ‘मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’
आफूले मान प्रतिष्ठा वा नाम दामका लागि नभई आफ्नो मातृभूमी र संसारभरका नेपालीहरुलाई सघाएर पुण्य र सन्तुष्टि प्राप्तीका लागि अध्यक्षमा उम्मेदवार हुन लागेको उहाँले स्पष्ट पार्नुभयो ।
घोषणासभामा उहाँले भन्नुभयो, ‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु, ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।’ आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
अध्यक्षका उम्मेदवार शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट गराउने उहाँको अठोट छ ।
उहाँले हाम्रो नीति: सुधारौं श्रमिकको आर्थिक स्थिति, विपे्रषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन ‘‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन लगायतका नारालाई आफ्नो बाचा पत्रमा उल्लेख गर्नु भएको छ ।
नेपालको बाग्लुङमा वि.सं २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि सन् २००३ मा पैसा उठाउन भनेर कतार जानु भएको थियो । कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उहाँले त्यहीँ एउटा निर्माण कम्पनीमा लेखापालको रुपमा जागिर सुरु गर्नु भएको थियो । हाल उहाँ कतारमा सफल नेपाली व्यवसायीका रुपमा स्थापित हुनुहुन्छ ।
अध्यक्षका उम्मेदवार शर्मा सन् २००५ देखि गैरआवासीय नेपाली अभियानमा सक्रिय हुनुहुन्छ । उहाँले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरिसक्नु भएको छ ।
हाल संघको आइसिसी उपाध्यक्ष रहनु भएका शर्मा अध्यक्षको शसक्त प्रत्याशी बन्नु भएको छ । उहाँले पहिलो पटक मध्यपुर्ववाट एनआरएनएको नेतृत्व गर्ने अठोटका साथ चुनावी मैदानमा होमिनु भएको छ ।