काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले आफ्नो पार्टी सरकार वा गठबन्धन परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ ।
केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाही प्रभावकारी हुनुपर्छ भन्ने धारणा नेताहरूले राखेको बताउँदै उहाँले सरकारको विषयमा जनगुनासो तथा असन्तुष्टि भएपनि सरकार परिवर्तन हुने कुरा नभएको बताउनुभयो । सरकारको मूल्यांकन गर्दा वा यसका कमीकमजोरीबारे प्रश्न उठ्दैमा सरकार परिवर्तन भइहाल्छ भन्ने नभएको उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले जुन समझदारीमा टेकेर सरकार निर्माण भएको छ, त्यसको आधारमा अघि बढ्नुको विकल्प नभएको दाबी गर्नुभयो ।
नेता भण्डारीले कांग्रेसको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मात्र नभएर पार्टीका मन्त्रीहरूको बारेमा पनि प्रश्न उठेको बताउनुभयो । लोकतन्त्रमा आलोचना, गुनासो र असन्तुष्टिलाई गम्भीरतासाथ लिनुपर्ने उहाँको भनाई छ ।
वैदिक सनातन हिन्दुराष्ट्र बनाउनका लागि आफूले महासमितिको बैठकमा एजेन्डा लिएर जाने पनि भण्डारीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको कुरा आत्मसात् नगर्दा पार्टी अप्ठ्यारोमा पर्यो । धर्म, संस्कृतिबिना कुन देश रहन्छ ? पार्टी पनि सिद्धिन्छ, देश पनि बरबाद हुन्छ । म यो मुद्दालाई महासमिति बैठकमा उठाउँछु ।’ संघीयता, धर्मनिरपेक्षता र निर्वाचन प्रणालीका बारेमा संविधान संशोधन गर्नु आवश्यक रहेको पनि भण्डारीले औंल्याउनुभयो ।
कांग्रेसमा युवा नेताहरूले सभापतिलाई मात्र दोष दिएर उम्कन नसक्ने पनि भण्डारीले बताउनुभयो ।