काठमाडौँ – प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ रहने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको छ । विपक्षीको आक्रोशित विरोधका वाबजुत प्रदेश ५ को नामाङ्कन र राजधानीको टुंगो लागेको हो ।
आज भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने विपक्षमा १३ मत परेको थियो । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी उपत्यकाको प्रस्ताव दुई तिहाई बहुमतले पास भएको घोषणा गर्नुभयो ।
प्रदेश सरकारले दाङको भालुबाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगांगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको थियो ।
तर बुटवलबाट राजधानी सार्न नहुने भन्दै नेपाली कांग्रेस र जनता समाजवादी पार्टी विरोधमा उत्रेको थियो । सो क्रममा सडकमा टायरहरु जलाइएका थिए भने मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा समेत आक्रमण भएको थियो ।
हिजो प्रदेशसभाभित्रै सांसदहरु तोडफोडमा उत्रेका थिए । नेपाली कांगेसका प्रदेशसभा सदस्य वीरेन्द्र कुमार कनौडियाले शालिन देखिने मुख्यमन्त्रीले छापामार शैली अपनाएको आरोप लगाउनुभयो ।
तर मुख्यमन्त्री पोखरेलले भने आफूले राजधानीबारे निर्णय लिँदा कुनै राजनीतिक पूर्वाग्रह नराखेको जवाफ दिनुभयो । बरु कांग्रेसले जितेका स्थानीय तहमा राजधानी लगिएको बताउँदै उहाँले साझा सहमतिको बिन्दु खोजिएको प्रष्ट पार्नुभयो ।
राजधानी घोषणा भएको दाङको देउखुरी क्षेत्रमा दीप प्रज्वलन गरेर खुशियाली मनाइएको छ भने हाल अस्थायी राजधानी रहेको बुटवल क्षेत्र निराश छ । रुपन्देहीका दुई हजार भन्दा धेरै नेता कार्यकर्ताले संयुक्त रुपमा नेकपा परित्यागको घोषणा गरेका छन् ।