काठमाडौं।संसदमा छिटपुट मात्रामा प्रवेश पाउने नेपालको खेल क्षेत्रले आज भने प्रवेश पायो । नेपाल–भारतको खेल जारी रहँदा सांसदहरुले क्रिकेट खेलाडीका पीडाहरुमाथि आवाज उठाए । सरकारले खेल क्षेत्रलाई निरुत्साहित गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाचा गरेअनुसारको पुरस्कार समेत वितरण गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले रोष प्रकट गर्नुभयो । खेलाडीहरुलाई करिब १७ लाख बाचा गरिएको भएपनि एक रुपैयाँ नपाएको भन्दै शाहीले भारतीय क्रिकेट कप्तान रोहित र नेपाली कप्तानको वार्षिक आम्दानी आकाश जमिनको अन्तर भएको संसद समक्ष जानकारी गराउनुभयो ।
वर्षौदेखि राज्यसत्तामा बसेकाहरुले मुलुकको खेल क्षेत्रका लागि योगदान दिन नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आक्रोश व्यक्त गर्नुभयो । भैँसेपाटीमा मुख्यमन्त्रीहरुका लागि आलिशान बंगला बन्दै गर्दा मुलुकको स्टेडियमा राम्रो लाइटको व्यवस्थापन गर्न नसकिएको प्रति ढकालले दुःख व्यक्त गर्नुभयो । भोको पेटले खेल्दा उपलब्धिमूलक नतिजाको अपेक्षा गर्नु गलत भएको उहाँको भनाइ छ ।
नेपाली खेलाडीहरुले एसिया कपमा कुशल प्रदर्शन देखाइरहेका बेला राज्यको लगानी नपुगेको भन्दै संसद तातेको हो । एमालेका सांसद रघुजी पन्तले चितवनमा अलपत्र परेको क्रिकेट रंगशालाका बारेमा राज्य चासो नदेखाएको आरोप लगाउनुभयो । उहाँले खेलाडीबाट छक्काको आशा गर्ने तर, लगानी नगर्ने प्रवृत्तिले अन्तर्राष्ट्रिय जगतमा निरिह बन्नुपरेको बताउनुभयो ।
नेपालका क्रिकेट खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा राम्रो प्रदर्शन गरिरहेका छन् । एसिया कपमा पहिलोपटक खेलिरहेका खेलाडीका लागि यो राम्रो अवसर पनि हो । देशले खेल क्षेत्रका लागि लगानी गर्न जरुरी छ । खेलाडीहरुलाई प्रोत्साहन गर्नसके अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि उच्च रहने पक्का छ ।
यसैबीच, कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीको राम्रो ब्याटिङमा नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतलाई २ सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भयो ।
नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिए । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । गुलशनले ३५ बलमा ३ चौका प्रहार गरे ।
३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आंकडा पार गराएका थिए । दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । करण केसी २ रनमा नटआउट रहे ।
भारतका रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ९ ओभरमा १ मेडनसहित ६० रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र मोहम्मद शामीले एक एक विकेट लिए । मोहम्मद शामीले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर, हार्दिक पान्ड्या र मोहम्मद शामीले एक एक विकेट लिए ।
००००