काठमाडौँ – संविधानसभा भवनभित्र २०७१ साल माघ ६ गते मध्यरातमा तत्कालीन एकिकृत माओवादीका सांसदहरुले तोडफोड गरेको घटनालाई बिर्साइदिने गरी सोमबार दिउँसो प्रदेश ५ को प्रदेशसभामा पनि उस्तै किसिमको लज्जास्पद घटना घटेको छ।
संसद भवनभित्र जनताबाट निर्वाचित भएका सांसदहरुले तोडफोड गर्र्दै अराजकताको हद पार गरेको घटना दोहोरिएको हो।
प्रदेश ५ को राजधानी बुटवलबाट सारेर दाङ लैजाने सत्तापक्षको प्रस्तावविरुद्ध आन्दोलित विपक्षी कांग्रेस प्रदेशसभाभित्रै तोडफोडमा उत्रेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले दाङ राजधानी र नाम लुम्बिनीको प्रस्ताव पेश गरेलगत्तै कांग्रेस सांसदहरु वसिउद्दिन खा, अष्टभुजा पाठक र वैजनाथ कलवार तोडफोडमा उत्रेका हुन्। उनीहरुले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरेका छन्।
सुरुमा नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई रोष्टम जान अवरोध गरेका थिए। कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरेलगत्तै नाराबाजी गरिरहेका सांसदहरु तोडफोडमा उत्रेका संसद सचिवालयको भिडियोमा देख्न सकिन्छ।
दुईतिहाईको दम्भ देखाउन खोजेपछि संसदमा अप्रिय घटना हुन पुगेको र यसको जिम्मेबारी प्रदेश सरकारले लिनुपर्ने तोडफोडमा संलग्न सांसद कलवारले बताउनुभयो ।
यसैबीच नाराबाजी र तोडफोडमा उत्रेका कांग्रेस सांसदहरुलाई मन्त्री केसीले रोष्टमबाटै घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिनभएको थियो।
आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका सांसदलाई घिसारेर बाहिर निकाल्न उहाँले रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिनुभएको हो।
कांग्रेस सांसदहरु तोडफोडमा उत्रेपछि मन्त्री केसीले बिपीले गिज्याइरहेको बताउनुभयो।
नेपाली कांग्रेसले बुटवलमै प्रदेश राजधानी बनाउनुपर्ने माग गरेको छ। प्रदेशसभाबाट दाङ स्थायी राजधानी सार्ने प्रस्ताव फिर्ता लिन माग गर्दै सडक र सदनमार्फत कांग्रेस आन्दोलित भएको छ।
प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले कोरोना कहरका बेला क¥फ्यू लगाएर राजधानीबारे हतारमा निर्णय लिन किन आवश्यक भयो भन्दै प्रश्न गर्नुभयो। शाशकहरु भेगीय नारा भन्दा माथि उठ्न नसकेको उहाँको टिप्पणी छ।
राजनीतिक विश्लेषक सुरेन्द्र केसीले भने संसद भवनभित्रै तोडफोड हुनु नेपाली राजनीतिका नौलौ घटना नभएको बताउनुभयो।
विगतदेखि नै असहिसुष्ण व्यवहार संसदीय राजनीतिमा देखिएकोले आजको घटनालाई नौलौ घटनाका रुपमा बुझ्न नहुने उहाँको टिप्पणी छ।
अघिल्लो पटक संविधानसभाभित्रै सांसदहरु तोडफोडमा उत्रेर अन्तराष्ट्रिय जगतमै नेपालको बेइज्जत भएका बेला फेरि उस्तै घटना दोहोरिएको भन्दै आम नागरिकसँगै बुद्धिजिबीहरुले चिन्ता र आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा तोडफोडमा उत्रने सांसद, घिसारेर निकाल्न निर्देशन दिने मन्त्री र प्रदेश सभामुखले देखाएको दम्भको चर्काे आलोचना भइरहेको छ।
यसैबीच प्रदेश ५ को प्रदेशसभाको बैठक भोलि मध्यान्न १२ बजे बस्ने गरी आज स्थगित भएको छ।