काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना रहेपनि अध्ययन र अनुसन्धान हुन नसकेको बताउनुभएको छ। सभामुख घिमिरेले नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताउनुभयो ।
ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाकुरीभन्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा शुक्रबार लालीगुँरास फूलको बिरुवा रोपेपछि उहाँले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भएपनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताउनुभएको हो ।
सभामुख घिमिरेले लाकुरी भन्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाको प्रशंसा गर्नुभयो।
उहाँले नेपालप्रतिको आकर्षण, आम्दानी बढाउन सो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महालक्ष्मी महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियान चलाएको बताउनुभयो ।
महालक्ष्मी नगरपालिकाले काठमाडौं उपत्यकाको नजिकै रहेको लाकुरी भन्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको छ ।