Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रक्षा बन्धनले नेपाली राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

रक्षा बन्धनले नेपाली राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

  • बिहिवार, भाद्र १४ २०८०

  • 507
    SHARES

  • रक्षा बन्धनले नेपाली राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास
    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। 
     
    नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक एवं परम्परागत रक्षा बन्धन, जनैपूर्णिमाको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सो कुरामा विश्वास व्यक्त गर्नुभएको हो। 
     
    “नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको छ, नेपालमा बसोबास गर्ने विभिन्न समुदायले एकै तिथिमा मनाउने रक्षा बन्धन र जनैपूर्णिमा पर्व तथा क्वाँटी खाने परम्परा वर्षौंदेखि सांस्कृतिक त्रिवेणीका रूपमा प्रचलनमा रही आएको छ”, सन्देशमा भनिएको छ । यस्ता पौराणिक पर्व एवं सांस्कृतिक परम्परालाई हामी सबैले सौहाद्र्रपूर्ण माहौलमा मनाउनु पर्दछ भन्ने उहाँको भनाइ छ । 
     
    तराई–मधेसतिर भाइबहिनीबीच स्नेह, प्रेम बाँड्ने पर्वका रूपमा धूमधामका साथ रक्षा बन्धन मनाइन्छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइको निधारमा रातो टीका लगाउने, आरती उतार्ने र हातमा ‘राखी’ (डोरो) बाँधेर सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीको रक्षाको सङ्कल्प लिँदै आफ्नो स्नेहाभाव दर्शाउने गर्छन् ।
     
    यसले परस्पर आत्मीयता र स्नेहको बन्धनलाई थप बलियो बनाउनुको साथै सामाजिक तथा पारिवारिक ऐक्यबद्धता एवं एकसूत्रमा बाँध्न गर्न सहयोग पुग्छ । यो पर्वमा कतै–कतै पुरोहित तथा आचार्य बिहानै यजमानको घर पुगेर डोरो बाँध्ने र उपहारस्वरूप धन, वस्त्र र भोजन आदि प्राप्त गर्ने चलन पनि रहिआएको पाइन्छ । यसले आपसी सद्भाव बढाउनुका साथै विभिन्न जातजातिबीचको सम्बन्धलाई थप समृद्ध र प्रगाढ बनाउँछ । 
        
    त्यसैगरी, जनै पूर्णिमाका रूपमा मनाउने पवित्र जलाशयमा स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीतं) फेर्ने गर्छन् । अरुन्धतीसहित आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । 
     
    आजकै दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा पनि रहिआएको छ । यसले शरीरमा रोग नलाग्ने र पेट सफा हुने आयुर्वेद शास्त्रीय मान्यता छ । हाम्रो स्वास्थ्यका लागि कृषिउपजको महत्त्वलाई यसले दर्शाउँदछ । 
     
    आजकै दिन नेपालका केही पवित्र धार्मिकस्थलमा मेला पनि लाग्ने गर्छ । यो मेलाले आन्तरिक पर्यटनको क्षेत्रमा टेवा पुर्‍याउने गर्छ । यसलाई विदेशी पर्यटक भित्र्याउने माध्यम बनाई यसबाट यथेष्ठ आयआर्जन गरी मुलुकको अर्थतन्त्रलाई सुदृढ र सबल बनाउनतिर केन्द्रित हुन आवश्यक रहेको उपराष्ट्रपति यादवको भनाइ छ  । “मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना पनि दिन चाहन्छु”, उहाँले भन्नुभएको छ। 


    बिहिवार, भाद्र १४ २०८००७:०४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij