Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरण: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

सुन प्रकरण: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

  • बुधवार, भाद्र १३ २०८०

  • 959
    SHARES

  • सुन प्रकरण: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार(आज) पक्राउ गरेको हो ।
     
    नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताउनुभयो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।
     
    इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरू अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।
     
    २०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको थियो ।
     
    अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारेको थियो । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिएको थियो ।
     
    ८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक रुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहीँबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो । प्रहरीले कल डिटेल रेकर्डसहित बाबु–छोराको विवरण मात्रै खुलाएर अन्य आरोपितमाथि गत असार २७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । त्यसको एक महिना बितिसक्दासमेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले उनीहरूमाथि सामान्य सोधपुछसमेत गरेको थिएन । त्यहीँ कारण आलोचना भइरहेका बेला सुन तस्करीको छानबिनका लागि राहुललाई प्रहरीले पक्राउ गरेको हो ।


    बुधवार, भाद्र १३ २०८००४:१९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij