काठमाडौं । नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अर्थ समिति अन्तर्गत अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंक पर्ने र विज्ञसहितको २६ जनाको समिति रहेको अर्थ समितिका निर्विरोध निर्वाचित सभापतिसमेत रहनुभएका चालिसेले सम्बन्धित संस्थानका व्यक्तिलाई ल्याएर मुलुकको विद्यमान अवस्था बुझ्ने र छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
समितिले पाँचौं पञ्चवर्षीय योजना र नयाँ मौद्रिक नीतिले पारेको फरकहरु पनि जनसमक्ष ल्याउने बताउँदै उहाँले बैंकिङ क्षेत्रको सुस्तता हटाउन आवश्यक पर्ने नीति र कानुनमा व्यापक छलफ गर्ने स्पष्ट पार्नुभएको छ ।
समग्रमा आर्थिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाएर जाने विषयमा धेरै काम गर्न सकिने नेता चालिसेको भनाइ छ ।
यस्तै, प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउँदै छन्।
समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि आइतबार नै ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ। सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।
संघीय संसद् सचिवालयका अनुसार नौ विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ।