काठमाडौं । प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनशनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुखप्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ताहरुले अनशनरत सञ्चारकर्मीहरुसँग आज भेट गरी उनीहरुले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
सञ्चारकर्मीहरुले लोकतन्त्र स्थापनाका लागि महवपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनीहरु बाँच्न पाउने हकबाट बञ्चित हुने अवस्था आउन नहुने उनीहरुको भनाइ छ । सो अवसरमा उनीहरुले सञ्चारकर्मीका समस्याप्रति सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।
विभिन्न कारण देखाएर सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने, निष्कासन गर्ने, बेतलबी बिदामा राखेर सञ्चारकर्मीहरु बाँच्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना सुरु भएको ९ महिना मात्रै भए पनि मिडिया क्षेत्र विगत २, ३ वर्षबाटै राज्यबाट प्रताडित रहेको बताए ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु विगत चार दिनदेखि रिले अनशनमा छन् । सरकारले तोकेअनुसारको सेवा–सुविधा नदिएको, कोरोनाको कारण देखाउँदै जागिरबाट निकाल्ने, तलब नदिने र बेतलबी बिदामा राख्ने काम गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।