काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भ्रष्टाचारविरुद्धमा कांग्रेसको शून्य सहनशीलता निती भएकाले आफ्नो र अर्काको नभन्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएको नेता विश्वकर्माले जो भ्रष्टाचारमा संलग्न छ त्यो जुन पार्टीको भए पनि कानुनी दायरामा आउनुपपर्छ भन्ने आफूहरुको पनि आवाज भएको बताउनुभएको हो ।
ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ‘सामान्य सोधपुछ’ समेत नगरी उन्मुक्ति दिने प्रयास भएको छ ।
ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्बाट भएका निर्णयमा संलग्न भएकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान टुंग्याउन लागिएको छ । यहि प्रकरणमा नेता विश्वकर्माले निर्णायक प्रक्रियामा सहभागीलाई कुन तहको छानबिन गर्ने, कसरी छोड्ने र राख्ने भन्ने कुरा सम्बन्धित निकायको हातमा भएकाले उस्ले पक्षपात गर्न नहुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारका घटकसमेत रहेका नेपाल र भट्टराईलाई अनुसन्धानको दायराबाहिर राखेर सीआईबीले सम्भवतः भोलि प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने बताइएको छ । नेता विश्वकर्माका अनुसार सीआईबीले बयान लिन सक्दैँनौ, मिल्दैन भन्नु चोख्खिएको मान्न नहुने बुझिएको छ ।
यस्तै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिती बनाउन आवश्यक नरहेको बताउनुभएको छ । छानबिन समितीको माग राख्दै एमालेले गत साउन १० गतेदेखि संसद लगातार अवरोध गरिरहेको छ ।
अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणकोअनुसन्धान गरिरहेको छ । विशषेज्ञ विभागको अनुसन्धानमा आशंका राखेर बाहिरको राजनीतिक व्यक्तिहरुले छानबिन गर्नुपर्छ भन्नु कुरा नै गलत भएको नेता विश्वकर्माको भनाइ छ ।