काठमाडौं । स्थानीय सरकारलाई पर्याप्त आर्थिक अधिकार नभएकाले स्थानीय सरकार व्यवहारिक रुपमा अझै पनि बलियो र स्वायत्त नरहेको स्थानीय मामिलाका अनुभवीहरुले दावी गरेका छन् ।
पर्याप्त आर्थिक अधिकार विनाको अन्य अधिकारले मात्रै स्थानीय सरकार बलियो हुन नसक्ने उनीहरुको टिप्पणी छ । हेटौँडाका पूर्व मेयर तथा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय सरकारलाई अधिकार दिइएको छ, तर बलिया नभएको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको पालिका वसहमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले संघीय सरकार र प्रदेश सरकारको अनुदान आस गर्नुपर्ने अवस्था रहँदासम्म स्थानीय सरकार बलिया हुन नसक्ने दावी गर्नुभयो । उहाँले साना तीना बजेट पनि संघ र प्रदेश सरकारले छुट्याउने प्रबृत्ति रहँदासम्म स्थानीय सरकारको स्वायत्तता पनि नरहने र बजेटको उपलब्धीमुलक प्रयोग पनि नहुने तर्क गर्नुभयो ।
प्रदेश सरकारले एक करोडभन्दा कम बजेटका कार्यक्रम स्थानीय सरकारलाई नै दिनुपर्ने उहाँको अनुभव छ । नेता पौडेलले स्थानीयस्तरमा उठेको कर मध्ये ८० प्रतिशत करको उपयोग स्थानीय सरकारले नै गर्न पाउनु पर्नेमा समेत जोड दिनुभयो ।
लोकप्रिय हुने नाममा कर छुट दिने प्रबृत्तिले स्थानीय सरकारलाई कमजोर बनाउने भएकाले सस्तो लोकप्रियताको पछि नलाग्न समेत उहाँले स्थानीय तहका पदाधिकारीहरुलाई सुझाव दिनुभयो ।
नगरपालिका संघमा २० बर्षसम्म अध्यक्ष हुनुभएका पौडेलले स्थानीय तहले आफ्ना अधिकारको पनि पर्याप्त उपभोग गर्न नसकेको टिप्पणी पनि गर्नुभयो ।