काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ ।
शनिबार(आज) परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा हिजो रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गर्नुभएको हो ।
रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली रहेका छन् । मुख्यमन्त्री धामीले आज बिहानैबाट बेपत्ताहरूको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरू खटाइएको परराष्ट्रमन्त्री साउदसँग बताउनुभएको छ।
धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरूको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।