Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
लेखा समिति बैठक 

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

  • आइतवार, श्रावण १४ २०८०

  • 672
    SHARES

  • सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ ।
     
    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेका सांसदहरूको माग छ । सार्वजनिक लेखा समितिको आइतबार(आज)को बैठकमा एमाले सांसदहरूले यस्तो माग गरेका हुन् ।
     
    एमाले सचिवसमेत रहनुभएका सांसद योगेश भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्न प्रहरीले नसक्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताउनुभयो । सत्तारूढ दलका नेता सुन तस्करीमा संलग्न रहेको आरोप लगाउँदै भट्टराईले सरकारलाई ध्यानाकर्षण पत्र लेख्नुपर्ने बताउनुभयो ।
     
    ‘प्रहरीले गृहमन्त्रीमाथि छानबिन गर्न सक्दैन । फाइल उहाँको टेबुलमा छ, सरकारमै सहभागी दलको ठुलो नेता तानिएका छन् । तर, सरकार छानबिन गर्न चाहँदैन,’ उहाँले भन्नुभयो, ‘भन्सारका गडबडीबारे छानबिन गर्नुपर्नेछ, त्यहीँ अर्थमन्त्री बसेर छानबिन हुन्छ?’
     
    एमालेकै सांसद ऋषिकेश पोखरेलले पनि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो । ‘उच्चस्तरीय छानबिन समिति नै गठन हुनुपर्छ । अनि मात्रै सत्यतथ्य बाहिर आउँछ । आजै सरकारलाई निर्देशन होस्,’ उहाँले भन्नुभयो।
     
    कांग्रेस सांसद तेजुलाल चौधरीले पनि सुन तस्करी प्रकरणमा समितिले छानबिन गर्नुपर्ने बताउनुभयो । सत्तारूढ दल जसपाका सांसद प्रदीप यादवले लेखा समितिले उपसमिति गठन गरेर छानबिन हुनुपर्ने बताउनुभयो। ‘सार्वजनिक लेखा समितिले छानबिन गर्नसक्छ कि सक्दैन? सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरोस्,’ उहाँले भन्नुभयो।
     
    कांग्रेस सांसद रामकृष्ण यादवले पनि सार्वजनिक लेखा समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर जानकारी लिनुपर्ने बताउनुभएको छ । भन्सार प्रमुखलाई पनि समितिमा बोलाएर सुन तस्करीबारे प्रस्टीकरण लिनुपर्ने धारणा राख्नुभयो ।
     
    राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर गरी ल्याएको क्विन्टल सुन बरामद गरेको थियो । ठुलो परिमाणमा तस्करीको सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो ।


    आइतवार, श्रावण १४ २०८००३:१०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij