काठमाडौं । सवारीसाधनको ट्रायल पास गराइदिएर लाइसेन्स बनाइदिने भन्दै रकम ठगी गरेको आरोपमा ललितपुरका राजु परियार पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिका–१३, एकान्तकुनाका ३० वर्षीय राजु परियार र काठमाडौं महानगरपालिका–१४, कलंकी, सुनारगाउँका ३६ वर्षीय ब्रम्हा रिसाललाई पक्राउ गरेको हो ।
परियारलाई गएको शनिबार ललितपुरकै लुभबाट पक्राउ गरिएको हो भने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक रिसाललाई हिजो काठमाडौंकै कालीमाटीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै १२ जनाभन्दा बढी व्यक्तिहरूलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै विश्वास दिलाएर नगद र सुनको गहनासहित चार लाख ३० हजार रुपैयाँ बराबरको ठगी गरेको प्रहरीले जनाएको छ ।त्यसरी ठगी गरी लिएको सुन रिसालले खरिद गरेका थिए ।
उनीहरूलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको सो कार्यालयले जनाएको छ ।