काठमाडौं । पाकिस्तान ए ले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए लाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको छ । श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा भएको खेलमा भारतलाई १ सय २८ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान च्याम्पियन भएको हो ।
जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर साई सुदर्शनले २८ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।
भारतलाई ओपनर साई सुदर्शन र अभिषेक शर्माले ८।३ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर अर्शद इकबालको सर्ट बलमा सुदर्शन एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट क्याच आउट भएपछि भारतले लगातार विकेट गुमाएको थियो । मोहम्मद वासिमको बलमा निकिन जोस ११ रनमा एलबीडब्लू आउट भए ।
पाकिस्तानका स्पिनरले भारतको मध्यक्रम धरासयी बनाउँदै उपाधि यात्रा सहज बनाएका थिए । स्पिनर सुफियान मुकीकको बलमा अभिषेक शर्मा तयाब ताहिरबाट क्याच आउट भए ।
कप्तान यश धुल ४१ बलमा ४ चौकासहित ३९, निशान्त सिन्धु १०, ध्रुव जुरेल ९, रियान पराग १४ र हर्षित राना १३ रनमा आउट भएपछि भारतको जितको सम्भावना सकिएको थियो ।
पाकिस्तानको जितमा सुफियान मुकीमले १० ओभरमा ६६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।
पाकिस्तान ए का लागि तैयव ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । लिस्ट ए मा चौथो शतक ताहिरले ६६ बलमा पूरा गरेका थिए ।
पाकिस्तान ए ले १ सय २१ रनमा पहिलो विकेट गुमाएको थियो । उसका दुवै ओपनरले अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर सैब अयबले ५१ बलमा ५९ रन बनाउँदा अर्का ओपनर सहबाज फरहामले ६२ बलमा ६५ रन बनाए ।
मुबासिर खानले ४७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए । ओमिर युसुफ ३५ बलमा ३५ रन बनाउँदै आउट भए ।
भारत ए का लागि रियान पराग र राजवद्र्धन हङ्गेरकरले समान २र२ तथा हर्षित राना, मानव सुतार र निशान्त सिधुले समान १र१ विकेट लिए ।
पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यस अघि २०१९ मा भएको पछिल्लो संस्करण समेत पाकिस्तानले जितेको थियो ।
प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो