Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मनसुनी वर्षा सुस्त, देशभर ६८ प्रतिशत मात्र रोपाइँ

मनसुनी वर्षा सुस्त, देशभर ६८ प्रतिशत मात्र रोपाइँ

  • शनिवार, श्रावण ६ २०८०

  • 499
    SHARES

  • मनसुनी वर्षा सुस्त, देशभर ६८ प्रतिशत मात्र रोपाइँ
    काठमाडौं । देशभर मनसुनी वर्षा केही सुस्त देखिएको छ। यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ। पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन। भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारी रुपमा भएको छैन।
     
    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। विसं २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।
     
    गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ। विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ।
     
    जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। यही कारणले तुलनात्मक रुपमा कम वर्षा भएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो।
     
    ‘अहिले मनसुन ब्रेकको अवस्था छ, वर्षाका क्रममा केही कमी आएको छ, वर्षा नै नहुने भन्ने त हैन तर, विगतका दिनको तुलनामा कम वर्षा हुने देखिन्छ,’ उहाँले भन्नुभयो। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकोभन्दा दक्षिणतिर रहेकाले वर्षा कम भएको उहाँको भनाइ छ। 
     
    महाशाखाकै अर्का मौसमविद् रोजन लामिछानेले पनि मनसुनी वर्षा पर्याप्त नहुँदा धान रोप्न किसानलाई समस्या भएको उल्लेख गर्नुभयो।  मनसुन कमजोर रहे पनि खण्डित रुपमा मुलुकभर वर्षा भइरहेको मौसमविद् लामिछानेको भनाइ छ।  कृषि विभागको विवरणमा कर्णाली प्रदेशमा विशेषगरी लम्पी स्किन रोगका कारण गोरुको अभाव भई रोपाइँ थोरै प्रभावित भएको जानकारीमा आएको विभागले जनाएको छ।
     
    सुदूरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ। बिस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्किन रोगको प्रभाव कम हुँदै जाँच्दा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने विभागको अपेक्षा छ। मध्य तराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेका सन्दर्भमा साउन मसान्तसम्ममा ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको विभागले उल्लेख गरेको छ।
     
    मनसुनी वर्षा ३७ प्रतिशत मात्रै
    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ। शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार जुन १ देखि जुलाई २१ तारिखसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ। जुन सरदर वर्षाकै हाराहारीमा छ। पूरै मनसुन अवधिभर अर्थात् चार महिनामा नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुन्छ।
        
    यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपालमा प्रवेश गरेको थियो। नेपालमा सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्मको अवधिलाई मनसुन मानिन्छ। यसअघि विगतका वर्षभन्दा यो वर्ष मनसुनी वर्षामा हुने प्रक्षेपण गरिएको थियो।


    शनिवार, श्रावण ६ २०८००२:५५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij