काठमाडौं । काठमाडौंस्थित चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाउँमा तीन वर्षमा लाग्ने मत्स्यनारायण मेलाको तयारी पुरा भएको छ ।

मत्स्यनारायण मेलाबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत् गुरु शैलेश आचार्य र चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले मेलाको महत्व र व्यवस्थापन बारे जानकारी गराउनु भएको थियो ।

काठमाडौंको मच्छेगाउँमा यसवर्षको मत्स्यनारायण मेला (पुरूषोत्तम मेला) भोलि साउन २ गतेबाट सुरु हुँदैछ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ।

यो महिनालाई अधिक मास महिना पनि भनिन्छ । एक महिनामा २ औँसी पर्यो भने त्यो महिनालाई पुरूषोत्तम (मलमास,अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ ।

चन्द्रागिरिमा अवस्थित मत्स्यनारायणको मन्दिरमा भोलिदेखि एक महिना लामो मेला शुरु हुँदैछ । मलमासको अवधिभर यस मेलामा नेपाल तथा भारतबाट लाखौँ भक्तजनहरु दर्शन गर्न आउने गर्दछन् ।
मलमास अवधिभर कीर्तिपुरबाट चार किलोमिटर दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ ।

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ । प्राचिनकालमा सत्यव्रत नाम गरेका राजाले नदिमा मत्स्य अवतारको दर्शन पाएको किंवदन्ती छ ।
सानो माछाले आफ्नो रक्षार्थ विन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेपनि नअटाएको र तलाउ अनि समुन्द्रसम्म राख्दा समेत माछाको आकार बढ्दै गएको बताइन्छ । राजाले भगवान विष्णुको अवतार चालपाएर मत्स्य अवतारको पूजा गरेको अनि पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो नाँउमा बिउबिजन सहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष अधिकारीले मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी सुम्पिएको छ । मेला व्यवस्थापनका लागि नगरपालिका, सुरक्षा निकाय लगायतका सरोकारवाला निकायहरूसँग समन्वयात्मक बैठक बस्ने क्रम जारी छ ।
मेला व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थान ओगटेर पसल राख्न नपाइने, व्यापार व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, हरेक पसलमा अनिवार्य रूपमा सबैले देख्ने गरी मूल्य सूची राख्नुपर्ने समेत निर्णय गरेको छ । नियम नमान्नेलाई कडा कारबाही गर्ने निर्णय भएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

बैठकले मत्स्यनारायण मन्दिर क्षेत्रको १५० मिटर क्षेत्र वरपर मदिराजन्य पदार्थ तथा माछाबाट बनेका परिकार विक्री वितरणमा रोक लगाउने निर्णय समेत गरेको छ ।

