काठमाडौं। नेपाली क्रिकेट टिमका पुर्व कप्तान एवं स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साताबाट सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका छन् ।जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–ट्वान्टी खेल्न क्यानडामा आबद्ध भएका कारण सन्दीप र दीपेन्द्र सो लिगमा सहभागी हुन जाने भएकोले इमर्जिङ कप गुमाउने भएका हुन्।
दीपेन्द्र पहिलो पहिलो पटक विदेशी लिग खेल्न लागेका छन्,उनलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टमा किनेको हो। सन्दीप भने लगातार यस लिग खेल्दै आएका छन्। एसीयाका टेस्ट मान्यता प्राप्त पाँच टोलीका ए टिम तथा अन्य तीन टोलीले सहभागीता जनाउदै छन्। नेपालले १३ जुलाई देखि २३ जुलाईसम्म श्रीलंकामा इमर्जिङ कप खेल्दैछ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो। उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन्। नेपाल, युएई, पाकिस्तान ए र भारत ए इमर्जिङ कपको समूह बी मा छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए,अफगानिस्तान ए र ओमान छन्।
हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ । नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल २१ जुलाईमा र फाइनल खेल २३ जुलाईमा हुनेछ ।