काठमाडौं । नेपाल मलेसियामा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।
बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१।३ ओभरमा ८७ रनमा अलआउट भयो ।
सिंगापुरको इनिङ्स कमजोर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले १–१ विकेट लिए ।
सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर रोशन रविचन्द्रनसंग मिलेर ४३ रनको साझेदारी गरे । रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने थाक्करले ७ रन जोडे । कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दोहोरो अंकको रन छुन सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।