काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताउनुभएको छ । कम्युनिष्टहरूबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उहाँले बताउनुभयो ।
गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले लेफ्टहरूको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’
विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उहाँले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताउनुभएको हो । कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उहाँले बताउनुभयो ।
यस्तै उहाँले यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको पनि बताउनुभयो । जनतामाथि र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्न मन लागेको बताउँदै उनले भन्नुभयो, ‘म नभई हुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ ।’
देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । सामान्य रुपमा सुधार हुने सम्भावना नभएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बिताएका क्षणको स्मरण गर्दै गिरिजा आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभयो । तर विगतमा गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उहाँले बताउनुभयो ।
आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उहाँले स्मरण गर्नुभयो । अस्पतालमा भर्ना भएको बेला गिरिजाले आफूलाई एक्लै बोलाएर ‘सम्हाल्नुस् यो देश’ भनेको कुराले गिरिजाप्रति अगाधा आस्था र विश्वास भइराखेको उहाँले बताउनुभयो ।
उहाँले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने भनेर पेश भएको प्रस्तावलाई मन्त्रिपरिषद्बाट अघि बढाउने आश्वासन समेत दिनुभयो ।