काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब यात्रुहरुलाई बिदाइ र स्वागतका गर्न ३ जनाभन्दा बढी आफन्त आउन नपाउने भएका छन्। विमानस्थल कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै भिडभाड नियन्त्रण गर्न भन्दै बिदाइ र स्वागतका लागि यात्रुका ३ जनाभन्दा बढी आफन्त नआउन निर्देशन दिएको हो।
विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेको र आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिरको स्थानको सीमितताका कारण विमानस्थल व्यस्त हुने गरेको छ।
व्यस्त समयमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न आउने आफन्तहरूको भिडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएकोले पनि यो व्यवस्था गर्नुपरेको प्रवक्ता टेकनाथ सिटौलाले बताउनु भएको छ ।
सिटौलाकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिबाट भएको निर्णयअनुसार ३ जना भन्दा बढी विमानस्थलमा नआउन र नजान निर्देशन जारी गरिएको हो। विमानस्थलमा एक जनालाई बिदाइ गर्न १० जनासम्म आउने गरेको उहाँले बताउनु भयो ।