काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मुक्तिनारायण प्रधानले नेकपा एमालेले जतिसुकै कोसिस गरे पनि सरकार नढल्ने ठोकुवा गर्नुभएको छ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता प्रधानले भन्नुभयो, ‘अहिले नेकपा एमालेले सरकार परिवर्तन गर्न चाहेको छ । त्यसका लागि उसले गठबन्धन तोड्ने प्रयास गर्न सक्छ । तर संविधानअनुसार दुई वर्ष नपुगीकन सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन । गठबन्धनको मुख्य दल नेपाली कांग्रेस नै त्यसको पक्षमा छैन । त्यसैले तत्काल गठबन्धन टुट्ने अवस्थामा छैन,।’
लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत गर्ने एजेन्डा बोकेको गठबन्धनलाई पाँच वर्ष टिकाउनुपर्ने प्रधानको धारणा छ । बजेटमा ‘पावरवाला’ले मनपरी गरेको आरोप पनि उहाँले लगाउनुभयो । प्रधानले भन्नुभयो, ‘बजेट भनेको त जनतालाई लक्षित गरेर ल्याउने हो नि । जो पावरमा छ, जो मन्त्री, प्रधानमन्त्री छ, उसको जिल्लामा ओइराउने, अन्यत्रलाई उपेक्षा गर्न मिल्दैन नि ।’
अर्को प्रसंगमा वरिष्ठ अधिवक्तासमेत रहेका प्रधानले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ‘पपुलारिटी’का लागि कानुन मान्दिनँ भन्नै नमिल्ने पनि बताउनुभयो । उहाँले कानुनको निःसर्त पालना गर्नुपर्ने सुझाव दिनुभयो ।