काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३–१ गोलले पराजित भएको छ ।
कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो । नेपालले भने एक मात्र गोल दोस्रो हाफमा गरेको थियो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए । फवाज वालोताइबीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदुपयोग गर्दै उनले खाली पोस्टमा हेडमार्फत गोल गरेका थिए ।
त्यतिबेला नेपाली टोलीका गोलरक्षक किरणकुमार लिम्बु पनि अगाडि बढेका थिए । दोस्रो गोल भने निर्धारित समयको ४२ औँ मिनेटमा सबाइब अलखालदीले गरेका हुन् । उनले डिबक्स भित्रबाट गरेको प्रहार गोलरक्षक किरणलाई समेत छक्क्याउँदै गोलमा परिणत भएको थियो । कुवेतका लागि तेस्रो गोल निर्धारित समयको ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गरेका हुन् । नेपालका रक्षापंक्तिका अनुभवी खेलाडी अनन्त तामाङले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।
नेपाल र कुवेतबीच भएको यो १० औँ खेल हो । त्यसमध्ये नौवटा खेलमा कुवेत विजयी भएको छ । एक खेल भने बराबरीमा सकिएको छ । १० खेलमा कुवेतले नेपालको पोस्टमा ३७ गोल गरेको छ भने नेपालले कुवेतको पोस्टमा केवल ३ गोल गर्न सकेको छ । पछिल्लो फिफा वरीयतामा कुवेत एक सय ४३ औँ स्थानमा छ । नेपाल भने फिफा वरीयताको एक सय ७४ औँ स्थानमा आसिन छ ।
यस पटक प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । समूह बी’ मा भने लेबनान, मालदिभ्स, भुटान र बङ्गलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ । नेपालले तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ । सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ ।
यसैगरी मालदिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बङ्गलादेश, श्रीलंका र अफगानिस्तानले एकरएक पटक उपाधि जितेका छन् । अफगानिस्तान भने यस पटक प्रतियोगितामा सहभागी छैन ।