Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बलात्कारीलाई फाँसी हुनुपर्ने बहस फेरि एकपटक चर्चामा

बलात्कारीलाई फाँसी हुनुपर्ने बहस फेरि एकपटक चर्चामा

  • आइतवार, आश्विन ११ २०७७

  • 1.3K
    SHARES

  • बलात्कारीलाई फाँसी हुनुपर्ने बहस फेरि एकपटक चर्चामा

    काठमाडौँ – बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि निर्मम ढंगले हत्या भएको घटनासँगै नेपालमा फेरि एक पटक फाँसीको सजाय हुनुपर्ने विषयमा बहस उर्लेको छ।

    अहिले संसद अवरुद्ध भए पनि सांसद तथा नेताहरु सडकमै ओर्लेर बलात्कारीलाई फाँसीको सजायको माग गरिरहेका छन्। नेपालको कानुनमा फाँसीको व्यवस्था छैन।

    तर स–साना बच्चीहरुलाई बलात्कार गरेर हत्या गर्ने पिपाशुहरुलाई फाँसी हुनै पर्ने माग चर्काे गरी उठ्न थालेको हो। नेपाल महिला संघले आज काठमाडौँमा गरेको विरोध प्रदर्शनमा पनि बलात्कारीलाई फाँसी दिन भन्दै नाराबाजी भएको छ।

    कांग्रेस सांसद डा. डिला संग्रौलाले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई फाँसीको सजाय हुनै पर्ने बताउनुभयो । उहाँले छिमेकी मुलुक भारतसहितका देशमा रहेको फाँसीको व्यवस्था नेपालमा पनि लागु गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    गत बुधबार बझाङको मष्टा गाउँपालिकामा हजुरबुवासँगै बस्दै आएकी १२ वर्षीया सम्झनाको बलात्कारपछि निर्मम ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ।

    बोहरा यसअघि पनि बलत्कारको घटनामा संलग्न रहेको र गाउँलेहरुले पाँच सय जरिबाना गरेर गाउँमै मिलापत्र गरेको खुलासा भएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको यो घटनासँगै बलात्कारका सबै दोषीहरुलाई फाँसीको सजाय हुनुपर्ने आवाज बलियो गरि उठिरहेको छ ।

    बझाङका सांसद प्रकाश स्नेही रसाइलीले एक त कमजोर कानुन र अर्काेतिर त्यसको फितलो कार्यान्वयनका कारणले बलात्कारका घटनामा कमि आउन नसकेको बताउनुभयो । उहाँले बलात्कारीलाई फाँसीको सजायको आवश्यकता आफूले पनि महसुस गरेको बताउनुभयो ।

    कांग्रेस निकट नेपाल महिला संघले आज काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनमा सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाक्री पनि मिसिनुभएको थियो।

    प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका बेला सांसद झाक्रीले भने आजको आजै फाँसीको व्यवस्था लागु हुन कठिन रहेको बताउनुभयो।

    उहाँले विभिन्न अन्तराष्ट्रि सन्धि सम्झौतामा पक्षराष्ट्र भएर हस्ताक्षर गरेको नेपालले तत्काल संविधानमै फाँसीको व्यवस्था गर्न नसक्ने तर्क गर्नुभयो। तर पछिल्लो पटक उठेको फाँसीको बहसलाई भने सकारात्मक रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

    पछिल्लो समय बलात्कारपछि हत्याका घटनाहरु बढ्दै गएका छन् । प्रमाण नष्ट गर्ने हेतुले पीडिकले बलात्कारपछि हत्याको मनसाय बनाउने गरेको विभिन्न घटनाका अनुसन्धानले देखाएको छ । त्यसैले बलात्कार र बलात्कारपछि हत्याका दुवै अपराधमा कडा कानुनी सवजायको व्यवस्था हुनुपर्ने विज्ञहरु बताउँछन् । मानवअधिकारकर्मी इन्द्र अर्याल कागजी घोडाका रुपमा मात्रै ऐन कानुनहरु सीमित भएकोले समस्या उत्पन्न भएको बताउनुहुन्छ । भएकै कानुनी व्यवस्थालाई इमान्दारिताका साथ पालना गर्ने हो भने अपराधमा कमि आउने उहाँको विश्वास छ ।

    बझाङ लगायत देशभरका घटेका अपराधका घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने काममा आफूहरु लागिरहेको नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सम्झनाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आशंकामा एकजनालाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

    सरकारले भर्खरै एसिड आक्रमणमा संलग्नहरुलाई २० वर्षको जेल सजाय हुने गरी अध्यादेश ल्याएको छ । समयको माग बमोजिम उठिरहेको बलात्कारीलाई फाँसीको सजायबारे पनि सरकारले आवश्यक गृहकार्य गरेर उचित निर्णय लिन आवश्यक छ ।


    आइतवार, आश्विन ११ २०७७०७:४८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij