काठमाडौं । नागरिक अगुवाहरुले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपील गरेका छन् ।
आज पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुगांना, पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता शम्भु थापा, संविधानविद् भीमार्जुन आचार्यलगायतले संयुक्त अपिल जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न र उहाँले उठाएका मागहरु सम्बोधन गर्न सरकारलाई माग गरेका हुन् ।
२९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिका –६ स्थित बाबिरामष्ट मन्दिरमा अनसन थालेका केसी काठमाडौं आएको एकसाता बितिसक्दा पनि सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ ।
अपिकर्ताहरुको तर्फबाट प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले जारी गरेको अपिलमा भनिएको छ, ‘डा. केसीसँग विगतका सरकारहरुले पटक–पटक गरेका सम्झौंता कार्यान्वयन गर्न र उहाँको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं ।’
कोरोना भाइरस संक्रमण रोकथाम, सरल परीक्षण, भ्रष्टाचार र विभिन्न प्रकरणमा उठेका सवालको छानबिन एवं कारबाहीका लागि डा. केसीले राखेको मागप्रति पनि संवेदनशील बन्न पनि अपिलकर्ताहरुले सरकारलाई आग्रह गरेका छन् ।