काठमाडौं । कोशी प्रदेशमा गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको जानकारी अनुसार सङ्खुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा पहिरोले पुरेर एक जनाको ज्यान गएको हो ।
हालसम्म २८ जना बेपत्ता रहेका छन् । सबैभन्दा धेरै बेपत्ता हुने जिल्ला सङ्खुवासभा हो । सङ्खुवासभामा २० जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । सङ्खुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कविहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यस्तै सोही जिल्लाको मकालु गाउँपालिकामा चार जना बेपत्ता भएको उहाँले बताउनुभयो । एक जनाको शव भेटिएको उहाँले जानकारी दिनुभयो । उनी अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुर हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
यस्तै बाढीले सङ्खुवासभाको चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा क्षति गरेको छ । यस्तै पाँचथर पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एक जना रहेका छन् ।
बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ । पुल बगेसँगै राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको डिआइजी बास्तोलाले बताउनुभयो ।
उता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । बेपत्ता परिवारमध्ये एक जनाको शव निकालिएको छ । यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही ठाउँका अर्का एक जना भरत तामाङ पनि बेपता भएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठुलो क्षति भएको बास्तोलाले जानकारी दिनुभयो ।