काठमाडौं । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा छलफल हुने समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा कार्कीउपर प्राप्त उजुरी खोलेर वितरण गर्ने, सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने हुनेछ ।
वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।
शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका छन् । ६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । कार्कीको संसदीय सुनुवाइ प्रक्रिया चलिरहेको समयमा न्याय परिषद्ले उहाँको अवकाश हुने पत्र दिएको हो ।