Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बजेटमाथिको छलफल सकियो, अर्थमन्त्री डा.महतले भोलि जवाफ फर्काउने, बजेटमा समेटिएका लक्ष्य हासिल गर्न कठिन (खासखबर)

बजेटमाथिको छलफल सकियो, अर्थमन्त्री डा.महतले भोलि जवाफ फर्काउने, बजेटमा समेटिएका लक्ष्य हासिल गर्न कठिन (खासखबर)

  • आइतवार, जेठ २८ २०८०

  • 611
    SHARES

  • बजेटमाथिको छलफल सकियो, अर्थमन्त्री डा.महतले भोलि जवाफ फर्काउने, बजेटमा समेटिएका लक्ष्य हासिल गर्न कठिन (खासखबर)

    आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल सकिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेटका केही बुँदामा सत्ता पक्षकै सांसदहरुले पनि असहमति जनाइरहेका छन् । अर्थमन्त्री महतले बजेटमाथि उठेका सवालहरुमा भोलि जवाफ दिनुहुनेछ । प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा, राप्रपालगायतले त यो बजेटलाई परम्परा धान्न मात्रै आएको संकेत गरेका छन् । एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले यो बजेटलाई ईच्छाशक्ति गुमाएको दस्तावेजका रुपमा टिप्पणी गर्नुभएको छ ।

    नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको थियो । सांसद पौडेलले बजेटमा केही राम्रा पक्षहरु समेटिएको भएपनि कार्यान्वयनको पाटो चुनौपतिपूर्ण रहेको उल्लेख गर्नुभयो । मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरु मुख्य कारण रहेको पनि उहाँको भनाइ थियो ।

    सांसद प्रभु साहले अहिलेको सरकारको नीति लुट्ने मात्रै रहेको आरोप लगाउनुभयो । हिजो तराई मधेशले अर्थतन्त्रको दुई तिहाइ हिस्सा ओगेटेको भएपनि हाल खस्किँदै गएकोप्रति साहको चिन्ता थियो । तराईलाई पुनरोत्थान गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उहाँको माग थियो ।

    नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो अयोग्यतालाई बुझेर जवाफ दिन नसके गठबन्धनलाई सरकारमा रहने कुनै अधिकार नभएको बताउनुभएको छ । यो गठबन्धन परामदेशी सरकार बनेदेखि देशको अर्थतन्त्र ओरालो लागेको उहाँको दाबी छ । गिरीले गठबन्धन जनताको लागि नभएर विचौलीयाको लागि निर्माण भएको आरोप लगाउनुभयो ।

    सांसद महेन्द्रबहादुर शाहीले बजेट सही ठाउँमा केन्द्रीत हुन नसकेको बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रीत रही बजेट बाँडफाँट हुँदा प्रभावित ठाउँहरु ओझेलमा परेको उहाँको दाबी छ । मुलुकको भौगोलिक परिस्थिति हेरेर एकीकृत बस्ती बिस्तारमा जोड दिनुपर्ने बताउँदै उहाँले वर्षेनी बाढीपहिरोमा करोडौँ बगाउनुपर्ने स्थितिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आविष्कार र अनुसन्धानका क्षेत्रमा केही नयाँ विषय बजेटमा समेटिएको भन्दै प्रविधि, उद्योगलगायतका क्षेत्रमा पनि लगानी हुनुपर्ने उहाँको तर्क छ ।

    अर्थतन्त्रका सुचक चलायमान नभइसकेका बेला, लक्ष्य अनुसार राजश्व र ऋण अनुदान हासिल नभइरहेको अवस्थामा बजेट सोचविचार गरी परिणाम मूलक ल्याउनुपर्छ । हचुवाको भरमा ल्याइएको बजेटले क्षणिक सन्तुष्टि दिएपनि दीर्घकालीन समाधान दिन सक्दैन । बजेटमाथि पर्याप्त छलफल गरी मुलुक विकासको लक्ष्य हासिल गर्नु आजको आवश्यकता हो ।

     


    आइतवार, जेठ २८ २०८००७:०३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij