काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले सांसद विकास कोषमा छुट्याइएको पाँच करोड पूर्वाधार केन्द्रित भएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै सांसद राणाले भन्नुभयो, ‘पहिले सांसद विकास कोष कन्ट्रोभर्सियल भएको म मान्छु । तर अहिले त्यसको मोडालिटी परिवर्तन भएको छ । कोषमा पाँच करोड छुट्याइएको छ । त्यसमध्ये हामीले बढीमा पाँचवटा योजनामा खर्च गर्न सक्छौं । पहिले कोष वितरणमुखी भयो भनेर विरोध आएको थियो । यसपटक सरकारले पूर्वाधार केन्द्रित गर्न खोजेको छ,।’
कर्मचारीको भत्ता घटाउने भनेपछि सांसदको पनि भत्ता घट्नुपर्ने राणाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘व्यक्तिगत रुपमा म १० प्रतिशत तलब घटाउन तयार छु । सुरुवात मैबाट गर्छु भनेर आउने आर्थिक वर्षमा संसद् र संसदीय समितिको बैठक भत्ता लिन्नँ भनेर निवेदन दिइसकेको छुँ । अरू सांसद साथीहरूले पनि तीनचार महिनाका लागि बैठक भत्ता नलिए हुन्छ ।’
पूर्व अर्थराज्यमन्त्रीसमेत रहनुभएका राणाले बजेट साइकल बढेको, आईटी सेक्टरमा एफडीआईको सीमा नराखिएको, वैदेशिक लगानीका लागि भिसा प्रोसेस सजिलो बनाइएको, कम्पनी दर्ता सीधै अनलाइनमा बिनाशुल्क कम्पनी दर्ता गर्न सक्ने, चालु खर्च घटाउन नयाँ भवन नबनाउन, इन्धनको जथाभाबी कुपन बाँड्नुको साटो नगदै दिने व्यवस्था बजेटको प्रगतिशील पाटो रहेको पनि औंल्याउनुभयो । कृषि र पर्यटनमा बजेट बढ्नु खुसीको कुरा भएको राणाले बताउनुभयो।