काठमाडौं । वर्षाको कारण इन्डियन प्रिमियर लिग(आइपीएल) को प्रभावित भएको फाइनल खेल सोमबार(आज) हुने भएको छ । नरेन्द्र मोदी क्रिकेट मैदानमा आइतबार तय फाइनल खेल वर्षाको कारण स्थगित भएको थियो । भारी वर्षाका कारण टस समेत नभई खेल रोकिएको थियो ।
गुजरात टाईटन्स र चेन्नई सुपर किंग्सबीचको उपाधि भिडन्त आज ’रिजर्भ डे’ मा गरिने भएको हो । गुजरात र चेन्नईबीचको फाइनल खेल आज साँझ ७ः४५ बजे सुरु हुनेछ । खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुनेछ ।
साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो । फाइनल प्रवेशका लागि पाएको दोस्रो मौकामा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
चेन्नई पनि गुजरातलाई पराजित गरी पाँचौँ पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । १३ औं सिजनको च्याम्पियन बनेर चेन्नई मुम्बईले सर्वाधिक पाँच पटक उपाधि उचालेको कीर्तिमानलाई बराबरी गर्न चाहन्छ ।
घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । अहमदाबादमा खेलेको नौ मध्ये छ खेलमा गुजरात विजयी भएको छ । गुजरातले सिजनको पहिलो खेलमा चेन्नईलाई यसै मैदानमा पराजित गरेको थियो ।
चेन्नईको भने यस मैदानमा राम्रो प्रदर्शन रहेको छैन । यस मैदानमा खेलेको तीन खेलमा नै चेन्नई पराजित भएको छ । समूह चरणमा चेन्नई र गुजरातले एक खेल खेलेका थिए । समूह चरणको खेलमा गुजरात अपराजित रहेको थियो ।