काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्री, दलका नेताहरू, परराष्ट्रविद्, कूटनीतिज्ञसँग सुझाव लिनुभएको छ । सिंहदरबारमा भएको छलफलमा प्रचण्डले आफ्नो भ्रमणलाई कसरी फलदायी बनाउने भन्ने विषयमा छलफल गर्नुभएको हो ।
मुलुक आर्थिक संकटमा गुज्रिरहेको, इपीजीको प्रतिवेदन भारतले बुझ्न नमानेको, सीमामा समस्या देखिएका बेला हुन लागेको प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्ध कस्तो रहन्छ भन्ने सबैलाई चासो छ । आजको छलफलपछि बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशबीचको सम्बन्धलाई २१ औँ शताब्दी सुहाउँदो बनाउनका निम्ति बनाइएको प्रबुद्ध व्यक्ति समूहले इपीजीको प्रतिवेदन भारतले नबुझेको विषय भ्रमणका क्रममा समेटिनुपर्ने बताउनुभयो ।
कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रचण्डको यो तेस्रो औपचारिक भ्रमण रहेको स्मरण गराउँदै आफ्नै पालामा भएका सम्झौताको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो । राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालको हितलाई ध्यानमा राखेर योजना बनाइ भ्रमणका बेला उठाउनुपर्ने बताउनुभयो ।
परराष्टविद् रमेशनाथ पाण्डेले सीमा समस्याका विषय प्राथमिकताका साथ उठ्नुपर्ने सुझाव दिनुभयो । तत्कालीन समयमा ब्रिटिस इण्डियाले जारी गरेको नक्सामा नेपालका भूभाग छुट्याइएको बताउँदै सीमामा विवाद आवश्यक नरहेको विषयमा जोड दिनुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले विद्युत् र जलस्रोतको विषय भ्रमणका क्रममा उठ्ने बताउनुभयो । कूटनीतिक छलफलबाट उठेका विषयहरूलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ ।
यता, राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले भारत भ्रमण स्तरीय बनाउन अवधि छोट्याउनु पर्ने बताउनुभएको छ । एक घण्टाको हवाई दूरीमा रहेको देशमा कुनै देशको प्रधानमन्त्रीले चार दिन बिताउन आवश्यक नरहेको उहाँको भनाइ छ ।
यो संकटग्रस्त बेलाको भ्रमणले अर्थपूर्ण नतिजा दिन आवश्यक छ । जाने र आउने मात्रै नभएर परिणाम दिनु आजको आवश्यकता हो । भारत भ्रमणका बेला प्रधानमन्त्रीको प्रस्तुति कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ ।