काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरूसँग छलफल गर्नुभएको छ ।
आइतबार(आज) सिंहदरबारमा गरेको छलफलमा उहाँले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराउनुभएको थियो ।
उहाँले त्यस क्रममा उहाँले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र दलका नेताहरूसँग सुझाव पनि लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरूले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने विषयमा सकारात्मक सुझाव दिनुभएको थियो ।
‘विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ । म जरुरी काम परेर हिँडेको छु, धेरैको सुझाव सुनेँ, अरूको सुझाव परराष्ट्रमन्त्रीहरूले लिँदै हुनुहुन्छ’, छलफलबाट बाहिरिने क्रममा उहाँले भन्नुभयो ।
पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काका अनुसार भारत भ्रमणप्रति प्रधानमन्त्री धेरै आशावादी देखिनुभएको छ । ‘उहाँले धेरै विषयमा समझदारी हुने र केही सम्झौतामा हस्ताक्षर हुने पनि बताउनुभयो’ उहाँले भन्नुभयो ।
छलफलमा सहभागी नेताहरूले भने सीमाका विषयमा देखिएको विवाद समाधानका लागि प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । त्यस्तै राष्ट्रिय हितलाई सर्वोपरि राखेर आत्मविश्वासका साथ भ्रमण पूरा गर्न सुझाव दिएको डा. खड्काले बताउनुभयो ।
‘राष्ट्रिय हितलाई सर्वोपरि ठानेर फुल आत्मविश्वासको साथ आफ्नो कुरा राख्नुपर्छ । संयुक्त वक्तव्य आएपछि विवाद आउने स्थिति आउन दिनुभएन’ उहाँले प्रधानमन्त्रीसँगको छलफलमा आफूले राखेको धारणाबारे भन्नुभयो।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालसँग भएको प्रमाणका आधारमा सीमा समस्याका बारेमा प्रष्ट धारणा राख्न सुझाव दिएको बताउनुभयो ।