काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठुला-ठुला एक्सन हुन लागेको दाबी गर्नुभएको छ । शनिबार(आज) प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताले अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा आफूहरूलाई साथ दिने बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले आफूहरूलाई जनयुद्धमा जस्तै भ्रष्टाचार विरोधी आन्दोलनमा पनि जनताले साथ दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम फालेका थियौँ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र बेथितिविरुद्ध हामफालिसकेका छौँ । हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी विचार र वर्गका निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसैगरी अहिले पनि हामी त्यही संकल्पका साथ लागेको छौँ ।’
उहाँले केही समयमै भ्रष्टाचारविरुद्ध ठुला कारबाही हुने पनि बताउनुभयो । तर कुन भ्रष्टाचार कस्तो कारबाही हो भन्ने भने उहाँले खुलाउनुभएन । ‘केही समयभित्रै ठुला-ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौँ,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिस्टको सभा रहेनछ । विचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।’
आफू प्रधानमन्त्री बनेदेखि नै असफल बनाउने तत्त्व लागेको पनि उहाँले दाबी गर्नुभएको छ। आफूलाई अपमानित र घेराबन्दी गर्ने कसरत भइरहेको उहाँले बताउनुभयो ।