काठमाडौं । वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले जनता र मिडियाको खबरदारीका कारण नक्कली भुटानी शरणार्थी प्रकरण तार्किक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान ६० दिन पुग्न लागिसकेकाले अन्तिम अवस्थामा रहेको र प्रहरीले १६ जनालाई पक्राउ गरेको स्मरण गराउनुभयो ।
यस्तै उहाँले जनता र मिडियाको खबरदारी निरन्तर रहेकाले अनुसन्धान फितलो र कमजोर नहुनेमा विश्वास व्यक्त गर्नुभएको छ । तर मुद्दा दायर गर्दैमा सबैको आरोप पुष्टि नहुन सक्नेतर्फ पनि संकेत गर्नुभयो ।
नेपालमा ठूलालाई उम्काउन सानालाई बलिको बोको बनाउने चलन रहेको तथ्य बिर्सन नहुने पनि पण्डीतको भनाइ रहेको छ ।