काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताउनु भएको छ।
बुधबार प्रतिनिधिसभा बैठक गगन थापा बोल्दै उहाँले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताउनुभयो।
‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभावित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्, उहाँले भन्नुभयो।
अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले यो प्रकरणमा दह्रोसँग खुट्टा टेक्नुपर्ने बताउनुभयो ।
‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस् ’ उहाँले भन्नुभयो, ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’
यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताउनुभयो।
‘यहाँ अनुसन्धान गरेँ भनेर मात्र हुँदैन, विश्वास लाग्नुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको भन्दै उहाँले प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिनुभएको छ।