काठमाडौं । बेलायतका राजा चार्ल्स र रानी क्यामिलाको आज राज्य अभिषेक हुँदैछ ।
वेस्टमिन्स्टर एबे चर्चमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे उनीहरूको राज्य अभिषेक हुन लागेको हो । यसअघि सन् १९५३ मा महारानी एलिजाबेथको राज्य अभिषेकको ७० वर्ष पश्चात् हुन लागेको यो समारोहलाई विश्व समुदायले चासोका साथ हेरेको छ ।
समारोहमा प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिले झण्डा बोक्नेहरूको काफिले नेतृत्व गर्नेछन् । आज बेलायतमा मौसम खराब रहने चेतावनीका बाबजुद राज्याभिषेक हुने क्षेत्रमा मानिसहरूको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपोर्टका अनुसार राज्याभिषेकका लागि एक हजार करोड भन्दा बढी खर्च लाग्ने जनाइएको छ । समारोहमा राजा चार्ल्स ७०० वर्ष पुरानो सेन्ट एडवर्डको कुर्सीमा बस्नेछन् भने उनको अभिषेकको लागि १२ औँ शताब्दीको सुनको चम्चा र पवित्र तेल प्रयोग गरिने बताइएको छ ।