काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
प्रहरीले सन्दीपलाई बिहीबार(आज) अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।
आज बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।
नेकपा एमालेका सचिव एवम् अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप पक्राउ परे पनि टोपबहादुर अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । हिजो बुधबार अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर टोपबहादुर बेलुकी बुटवल आएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।
उनीहरूले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।