काठमाडौं। नेपाली क्रिकेट टोलीले पछिल्लो दुई महिनामा जादुमय प्रदर्शन देखाएको छ । क्रिकेट टोलीले तीन वटा ठूला सफलता हासिल गरेको छ । नेपालले संकटमा परेको एक दिवसीय मान्यता आगामी चार वर्षका लागि जोगाएको छ भने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ । आज एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसियाका ५ टेस्ट मान्यता प्राप्त टोली सहभागी हुने एसिया कपमा छनोट भएको छ । आजको सफलतामा खेलाडीहरुले खुसी साँटासाँट गरेका छन् ।
नेपालले एसिसि प्रिमियर कपको उपाधि जितेको केही घण्टामै सोमपाल कामीले लियोनल मेस्सी स्टाइलमा ट्रफीसहित तस्विर समेत सार्वजनिक गरेका थिए । यसअघि लियोनल मेस्सीले विश्वकप जितेपछि यसरी नै विश्वकप ट्रफीसहित सुतेको तस्विर सार्वजनिक गरेका थिए ।
खेलमा शानदार विजयी भइसकेपछि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, लेग स्पिनर सन्दीप लामिछाने, बलर गुल्शन झाले सबैको अथक प्रयासले यो सफलता हासिल गरेको प्रतिक्रिया जनाएका छन् ।
नेपालले एसिया कपको समूह चरणमै पाकिस्तान र भारत जस्ता विश्व क्रिकेटका महाशक्ति राष्ट्रसँग खेल्नेछ । विगतमा एसिया कपमा एक पटक छनोट भएर पनि नेपालले खेल्न पाएको थिएन । नेपालले एसियाका टेस्ट मान्यताबाहेकका टोलीले मात्र खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता एसीसी प्रिमियर कपको उपाधि जितेको दोस्रो पटक हो ।
यसअघि सन् २०१२ मा भएको तत्कालीन एसीसी ट्रफीमा फाइनलमा भिडेका नेपाल र यूएईबीचको खेल बराबरीमा सकिएपछि दुवै टोलीलाई ट्रफी बाँडिएको थियो ।
एसीसी ट्रफी नेपालले जितेको त्यो पहिलो अवसर थियो । सन् २००२ को संस्करणमा नेपाल फाइनलसम्म पुगेपनि उपाधि भिडन्तमा पराजित भएको थियो । यसपटक पनि एसिया कपमा छनोट हुन सजिलो थिएन । प्रतियोगितामा सहभागी १० टोलीमध्ये विजेतामात्र एसिया कपमा पुग्ने भनिएकाले नेपालसहित ओमान, हङकङ र यूएई दावेदार देखिएका थिए ।
नेपाल एक खेल नहारी फाइनल पुगेको हो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले खेलाडीहरुको प्रदर्शनको प्रशंसा गरेका छन् । उनले खेलाडीको लगनशीलता, मेहनत र तत्परताले उपाधि उचाल्न सफल भएको बताएका छन् ।
अब नेपालले आगामी जुनमा जिम्बावेमा विश्वकप छनोट खेल्दैछ । त्यहाँ नेपालसहित श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालको नजर अब विश्वकप छनोटमा हुनेछ । विश्वकप छनोटबाट दुई टोली विश्वकपमा पुग्नेछन् ।